काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतको तीनवटा विषयको शैक्षिक शुल्क वृद्धिको निर्णय पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलकै पालामा भएको पाइएको छ । मन्त्री पौडेलले आफ्नो कार्यकाल सकिन पाँच दिन अगाडि मात्रै शुल्क बढाउने निर्णय गरेको भेटिएको हो ।
सीटीईभीटीका अधिकारी र शुल्क समायोजन कार्यटोलीको लामो समयदेखिको लबिइङका आधारमा मन्त्रीले जाँदाजाँदै शुल्क वृद्धिको निर्णय गरेको पौडेल निकट स्रोतले बतायो ।
सीटीईभीटीले भने मन्त्रीस्तरीय निर्णय र शुल्क समायोजनसम्बन्धी कार्यटोलीको सुझावका आधारमा निर्णय गरिएको जनाएको छ । जसमा २०७१÷७२ सालदेखि तोकिएको शुल्क हालसम्म कायम रहेकाले बढाइएको सीटीईभीटीको दाबी छ ।
तर, कति वर्षमा कति प्रतिशतका दरले शुल्क बढाउने भन्नेबारे कुनै वैधानिक आधार नभएको सीटीईभीटीका उच्च अधिकारीहरू बताउँछन्।
‘शुल्क समायोजन कार्यटोलीको सिफारिसका आधारमा समयसापेक्ष शुल्क समायोजन गर्ने हो । त्यसमा ठ्याक्कै यो नियम भन्ने छैन । हामीले पनि सूचना निस्किएपछि मात्रै थाहा पायौँ’, सीटीईभीटीका एक अधिकारीले भने ।
स्नातक र सोभन्दा माथिका शैक्षिक कार्यक्रमबारे मात्रै चिकित्सा शिक्षा आयोगले हेर्ने भएकाले प्रमाणपत्र तहका कार्यक्रमको शुल्कबारे सीटीईभीटीले आफ्नै हिसाबले निर्णय गर्दै आएको आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी बताउँछन् ।
आयोगले पछिल्लोपटक एमबीबीएस र बीडीएस कार्यक्रममा ३.३ प्रतिशतका दरले शुल्क वृद्धि गरेको थियो । तर, सीटीईभीटीमा भने हचुवाकै भरमा शुल्कसम्बन्धी विवादास्पद निर्णयहरू हुँदै आएका छन् ।
कुन विषयमा कति बढाइयो शुल्क ?
सीटीईभीटीले आगामी शैक्षिक सत्रमा निजी शैक्षिक संस्थाहरूका लागि तीनवटा विषयको शैक्षिक शुल्क वृद्धि गरेको छ । परिषद्ले चिकित्सा शिक्षा अन्तर्गतका प्रमाणपत्र तह नर्सिङ .पीसीएल नर्सिङं, प्रमाणपत्र तह सामान्य चिकित्सा (हेल्थ असिस्टेन्ट) र डिप्लोमा इन फार्मेसी (असिस्टेन्ट फार्मासिस्ट) को शैक्षिक शुल्क बढाएको हो ।
तीन वर्षे कार्यक्रमका लागि निर्धारित नयाँ शुल्क अनुसार आगामी शैक्षिक सत्र २०८०/८१ देखि लागु हुने सीटीईभीटीले जनाएको छ । पीसीएल नर्सिङतर्फ एक लाख ४९ हजार २३०, एचएतर्फ एक लाख १९ हजार र फार्मेसी तर्फ ८६ हजार ६६० रुपैयाँ शुल्क बढाइएको हो । पीसीएल नर्सिङको यसअघिको शुल्क चार लाख ७५ हजार रहेकोमा अब ६ लाख २४ हजार २३० रुपैयाँ भएको छ ।
त्यस्तै, एचएतर्फ यसअघिको शुल्क चार लाख चारहजार रुपैयाँ रहेकोमा अब पाँच लाख २३ हजार ८ सय २० रुपैयाँ भएको छ । फार्मेसी असिस्टेन्टतर्फ यसअघि तीन लाख ३७ हजार रहेकोमा अब चार लाख २३ हजार ६६० भएको छ ।
तोकिएको शुल्क वर्षैपिच्छे तिर्न पाउने सीटीईभीटीको व्यवस्था छ । जसअनुसार पहिलो वर्षमा ५० प्रतिशत तथा दोस्रो र तेस्रो वर्षमा २५/२५ प्रतिशतका दरले शुल्क भुक्तानी गर्नुपर्छ । नयाँ शुल्क अनुसार पीसीएल नर्सिङका विद्यार्थीले पहिलो वर्षमा दुई लाख ४९ हजार ६९०, दोस्रो वर्ष एक लाख ८७ हजार २७० र तेस्रो वर्षमा पनि एक लाख ८७ हजार २७० रुपौयाँ तिुर्नपर्ने हुन्छ ।
एचएका विद्यार्थीले पहिलो वर्ष दुई लाख ९ हजार ५३०, दोस्रो वर्ष एक लाख ५७ हजार १४५ र तेस्रो वर्ष एक लाख ५७ हजार १४५ रुपैयाँ तिर्नुपर्ने छ । त्यस्तै, फार्मेसी सहायकका विद्यार्थीले पहिलो वर्ष एक लाख ६९ हजार ४६४, दोस्रोमा एक लाख २७ हजार ९८ र तेस्रो वर्षमा पनि लाख २७ हजार ९८ रुपैयाँ नै तिर्नुपर्ने छ ।