काठमाडौं । बाल मन्दिरको जग्गा अनियमितता प्रकरणमा बाल संगठनका पूर्वपदाधिकारीसहित २० जनाविरुद्ध आज पक्राउ पुर्जी जारी भएको छ।
बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंह, पूर्वपदाधिकारीहरू तुलसीनारायण सिंह, गणेशभक्त श्रेष्ठ, सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
त्यस्तै गोपाल श्रेष्ठ, प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही, दिपकदास श्रेष्ठलाई पनि पक्राउ गर्न पुर्जी जारी भएको छ ।
वृहस्पति स्कुलका पूर्वसञ्चालकहरू चिरञ्जीवी तिवारी, प्रविणराज जोशी र मुरारी निधी तिवारीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । पुरुषोत्तमराज जोशी, श्रद्धा संघाई, अभिनव सिंघनिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेका लागि पक्राउ पुर्जी जारी भएको छ ।
संघाई, सिंघनिया र केडिया विशाल ग्रुपसँग सम्बन्धित छन् । विशाल ग्रुपले बालमन्दिरको जग्गाा भाडामा लिएर चलाएको थियो ।
केही दिनअघि नक्सालस्थित बाल संगठनको जग्गा अनियमिततामा संलग्न व्यक्तिहरूविरूद्ध जाहेरी परेको थियो। बाल मन्दिरको करिब २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी लिजमा दिइएको विषयमा विवाद छ ।