काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जोशी र ढकाललाई बढुवा र नियुक्त गरी पदस्थापन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।
बैठकले अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरेर ४२ जनालाई पुरस्कार तथा सम्मान प्रदान गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
समाज कल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझीलाई मनोनयन गरिएको छ भने रिक्त रहेको भाषा आयोगको सदस्यमा सुरेश मानन्धरलाई नियुक्त गरिएको छ ।
यी हुन् ४ निर्णयहरू :
१. प्रहरी नायव महानिरीक्षकहरू उमेशराज जोशी र भिमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने ।
२. अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृति दिने ।
३. समाज कल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझी, सुनसरीलाई मनोनयन गर्ने ।
४. भाषा आयोगको रिक्त सदस्य पदमा सुरेश मानन्धर, काठमाडौंलाई नियुक्त गर्ने ।