जनकपुरधाम । मधेश प्रदेशमा विगत १० महिनामा आगलागीबाट १९ जनाको अकालमा मृत्यु भएको छ ।
चालू अर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्ममा १२ महिलासहित १९ जनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
आगलागीमा परेर १५ जना बालबालिकासहित १३९ जना घाइते भएका छन् । आगलागीबाट सबैभन्दा बढी धनुषामा ६ जना, सिरहामा ५ जना, रौतहटमा ३ जना, बारामा २ जना, पर्सा, महोत्तरी तथा सर्लाहीमा १/१ जनाको मृत्यु भएको छ ।
आगलागीबाट २९६ वटा पशुचौपाया जलेर मरेका छन् भने ११४ वटा पशुचौपाया घाइते भएका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुवाचन्द्र बोहोराले जानकारी दिए । कार्यालयका अनुसार आगलागीबाट मधेश प्रदेशका ८ वटा जिल्लामा १ हजार १० घरगोठ जलेर नष्ट भएका तथा १ हजार २६६ वटा आगलागीका घटना भएका छन् ।
आगलागीबाट जलेका १ हजार १० घरगोठ अन्तर्गत कच्ची घर ६६९, पक्की घर ८८ तथा गोठ २५३ रहेका छन् । प्राप्त विवरणमा सबैभन्दा बढी आगलागीका घटना सिरहामा २२९ वटा भएका तथा सबैभन्दा कम सर्लाहीमा १११ वटा भएका छन् ।
महोत्तरीमा १९२ वटा, बारामा १२९, रौतहटमा ८८ वटा, पर्सामा ७५ वटा र धनुषामा २५, सप्तरीमा १९४ घरगोठ जलेर नष्ट भएका बताइएको छ ।
प्रदेश प्रहरी कार्यालय अनुसार आगलागीमा ९९ करोड ६० लाख ३७ हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको विवरणमा उल्लेख गरिएको छ । प्रवक्ता बोहोराका अनुसार चर्को घाम, गर्मी, तातो हावा , पानीको अभाव, घनाबस्ती तथा चेतनाको कमी र लापरबाहीको कारणले आगालागीको घटना भएको उल्लेख गर्दे आगलागीबाट सुरक्षित तथा सर्तक रहन सबैलाई आग्रह गरेका छन् ।
आगलागी पीडितलाई राहतको सहयोग सरकारी तथा गैरसरकारी पक्षबाट भइरहेको बताइएको छ ।