काठमाडौं । बागलुङ जिल्ला एक पहाडी जिल्ला हो । यो जिल्लाले झोलुङ्गे पुलको जिल्लाका रुपमा पनि अर्को चिनारी बनाएको छ ।
नेपाल भित्रको सानो नेपाल नामले परिचित बागलुङ प्राकृतिक रूपले चिटिक्क परेको सुन्दर पहाडी जिल्ला हो । यसै जिल्लामा साविकका दगातुन्डाँडा, सिसाखानी, जलजला, ग्वालीचौर, भिमगिठे, रणसिंहकिटेनी र दर्लिङ गाउँ विकास समितिहरूलाई समेटेर बडिगाड गाउँपालिका बनाइएको हो ।
यस गाउँपालिकाको केन्द्र साविकको ग्वालीचौर गाविसको खार बजार भन्ने स्थानमा राखिएको छ । यस गाउँपालिकालाई १० वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा गल्कोट नगरपालिका, पश्चिममा निसीखोला गाउँपालिका, प्युठान र गुल्मी जिल्ला उत्तरमा ढोरपाट नगरपालिका र ताराखोला गाउँपालिका तथा दक्षिणमा गुल्मी जिल्लासम्म फैलिएको छ ।
बडिगाड गाउँपालिकाको अध्यक्षको जिम्मेवारी गण्डकी थापा अधिकारीले सम्हालेकी छिन् भने उपाध्यक्षको जिम्मेवारी भिमसेन वनले सम्हालेका छन् । स्थानीय तहमा निर्वाचित भएर आएपछि जनप्रतिनिधिले गाउँपालिकामा के-कस्ता विकास निर्माणका काम गरेका छन् ? यी र यस्तै गतिविधिका बारेमा केन्द्रित भएर गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीसँग व्यवस्थाडटकमका लागि सन्तोषी कार्कीले लिएको अन्तर्वार्ताको सम्पादित अंश :
निर्वाचित भइसकेपछि अहिलेसम्म तपाईले गर्नुभएको मुख्य-मुख्य काम के के हुन् ?
म निर्वाचित भएर आइसके पश्चात आजको मिति सम्ममा ७०९ दिन बडिगाड गाउँपालिकाको अध्यक्षको रुपमा रही काम गरेको छु । सर्वप्रथमत मैले बडिगाड गाउँपालिकामा विधिको शासन स्थापित गरी आम समुदायलाई सुशासनको अनुभुति बनाउनु पर्दछ भन्ने मुख्य उद्देश्यका साथ गाउँपालिकाको आफ्नो क्षेत्र भित्रको भौगोलिक, आर्थिक, सामाजिक, शैक्षिक, साँस्कृतिक एवं समय पक्षहरुको चित्रण हुने गरी बडिगाड डिजिटल प्रोफाइलको निर्माण सँगै विभिन्न ऐन, नियमावली र कार्यविधि निर्माण गरिएको छ । पूर्वाधार विकास निर्माण अन्तर्गत मोटरबाटो र भवन निर्माण कार्यमा जोड दिइएको छ ।
सामाजिक विकास अन्तर्गत शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखि काम गरिएको छ । आर्थिक विकास समिति अन्तर्गत कृषी क्षेत्रमा आधुनिकिकरण तथा उत्पादनमा बृद्धि गराउनेमा काम गरिएको छ । वन तथा वातावरणलाई स्वच्छ राख्नका लागि विभिन्न कार्यक्रमहरु गरिएको छ भने विपद्लाई कम बनाउका लागि विपद् व्यवस्थापन समिति गठन गरी जहाँ विपद् त्यहाँ गाउँपालिका भन्ने मर्मका साथ अगाडी बढिएको छ साथै नदिको किनारामा खोल्सा खोल्सी र पहिरोको उच्च जोखिममा रहेका क्षेत्र तथा बस्तीलाई तटबन्ध गरिएको छ । गाउँपालिका भित्र रहेका सबै संघ–संस्थालाई नागरीकमैत्री बनाउनका लागि नागरीक बडापत्र तथा हेलो बडिगाड गाउँपालिका जस्ता कार्यक्रम संचालन गरी सुशासन कायम गरिएको छ । महिला, बालबालिका तथा ज्यष्ठ नागरीकहरुका लागी विभिन्न सिपमूलक, सम्मान तथा उत्प्रेरणा कार्यक्रम संचालन गरिएको छ भने युवाहरुका लागि समेत स्वरोजगार कार्यक्रम संचालन गर्नुका साथै युवालाई खेलकुद सँग समेत जोड्ने प्रयत्न गरिएको छ । गाउँपालिकाको पर्यटन क्षेत्रको अध्ययन गरी पूर्वाधार निर्माणको कार्यलाई अगाडि बढाएको छु ।
आगामी वर्षका लागी के-के योजना बनाउनु भएको छ ? कसरी काम गर्ने योजना छ ?
यस गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए पश्चात दुई आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट अधिवेशन सम्पन भैसकेको छ । जसमा आ.ब.०७९/०८० को पूर्ण रुपमा कार्यान्वयन भैसकेको छ भने आ.ब. ०८०/०८१ को कार्यान्वयनको अन्तिम चरणमा रहेको छ र साथ–साथै आगामी आ.ब. ०८१–०८२ को निति तथा कार्यक्रम बनाउन लागिरहेको छु । आगामी वर्षका लागि मेरो मुख्य योजना भनेको विगतमा सुरुवात गरिएकोे तर सम्पन्न नभएका योजनाहरुलाई पूर्ण रुपमा सम्पन गर्ने योजनामा छु । साथ–साथै विगतको निति तथा कार्यक्रम र बजेट भन्दा यस वर्ष अलि फरक खालको योजना तथा कार्यक्रम ल्याउने तयारीमा छु । यसैगरी शिक्षा, स्वास्थ्य र खानेपानीमा विशेष काम गर्ने योजना छ भने कृषीको क्षेत्रमा उत्पादनको बजारीकरण र चिस्यानकेन्द्र खोल्ने योजना छ ।
गाउँपालिकाले कृषी बिकासका लागि के कसरी काम गर्दै आइरहेको छ ?
परम्परागत कृषी प्रणालीलाई विस्थापित गरी आधुनिकिकरण गर्नका लागि गाउँपालिकाले विविध कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । किसान सुचिकरण, अभिमुखीकरण तथा विषादिमुक्त तरकारीको उत्पादन सम्बन्धी कार्यक्रम गरिएको छ । किसानहरुका लागि व्यतिगत तथा समुहगत रुपमा फर्म सपोर्ट कार्यक्रम अन्तर्गत आर्थिक सहायता उपलब्ध बनाईएको छ । कृषी बिमा कार्यक्रमलाई व्यवस्थित बनाई यसको कार्यक्षेत्र समेत विस्तार गरिएको छ । विभिन्न प्रकारका रोग तथा प्रकोपबाट कृषीमा हुने क्षतीको किसानहरुका लागि नगद तथा कृषीजन्य सामाग्री राहात स्वरुप उपलब्ध गरिएको छ । उत्पादनमा बृद्धि गर्नका लागी माटो परिक्षण गरिएकोे छ भने एक घर एक करेसाबारी एक घर एक फलफूल कार्यक्रमको सुरुवात गरिएको छ ।
जनताको आसा र भरोसा अनुसार तपाई अहिले गाउँपालिका अध्यक्षको भुमिकामा हुनुहुन्छ, नागरिकका अपेक्षा के के छन् ?
आफुले निर्वाचित बनाएर पठाएका जनप्रतिनिधिसँग पक्कै पनि नागरीकका अपेक्षा धेरै नै हुन्छन् र हुनु स्वभाविक पनि हो । म आफुले शिक्षा, स्वास्थ्य र कृषीमा बढी लगानी गर्न खोज्दा पनि आम नागरीकको अपेक्षा भने मोटरबाटो प्राथमिकतामा पर्ने गरेको छ । करिब ७५ प्रतिशत योजनाहरु मोटरबाटो तथा पूर्वाधार निर्माण तर्फका रहन्छन् । आम नागरीकले छिटो छरितो सेवा चाइरहेका छन् भने राज्यलाई राजश्व तिर्नु पर्दछ भन्ने मानसिकताको विकास अझै भएको देखिएको छैन ।
शिक्षा र स्वास्थ्य पूर्ण रुपमा निशुल्क जनताले चाहिरहेका छन् किनकी राम्रो शिक्षाका लागि अझै पनि ठुलो मात्रमा आर्थिकको आवश्यकता पर्दछ अर्को तर्फ आर्थिक अभावकै कारणले उपचार नपाएर गरीब नागरिकहरुले कष्ठकर जिवनयापन गरी मृत्यु हुन बाध्य भएका छन् । विगतको तुलनामा अहिले नागरीकका अपेक्षा झन् बढी रहेको छ । धेरै अपेक्षाहरु सकारात्मक छन् भने केही नकारात्मक अपेक्षा समेत नागरीकले चाहिरहेको मैले अनुभुति गरेको छु । जनताले नै मलाई यो स्थानमा ल्याउनु भएको हो र मैले पनि जनताको आसा र भरोसा अनुसार नै काम गरेको छु भन्नेमा मलाई विश्वास छ ।
तपाइको गाउँपालिकामा विधुत् संचार र सडकको अबस्था कस्तो छ ?
पक्कै पनि विधुत संचार र सडक विकासका महत्वपूर्ण अङ्गहरु हुन् र सोही अनुरुप बडिगाड गाउँपालिकाले यी क्षेत्रमा काम गर्दै आईरहेको छ । म आफु निर्वाचित हुँदा बडिगाड गाउँपालिकाको केही वडाका केही जनताहरु टुकीको साहारामा अन्धकारमा जिवन बिताइरहेका थिए र अहिले त्यो कुराको अन्त्य गरिएको छ भने सबै वडाहरुमा केन्द्रीय विधुत लाईन जडानको प्रक्रिया अगाडी बढेको छ । मलाई विश्वास छ मेरै कार्यकालमा बडिगाड गाउँपालिकाको दश वटै वडाहरुमा केन्द्रीय विधुत लाइन विस्तार हुन्छ ।
विधुतमा मात्र नभई म आफु निर्वाचित हुँदा बडिगाड गाउँपालिकाको केही वडामा संचारको पहुँच थिएन जसका कारण फोन गर्नका लागी जनताहरु कहाँ टावर टिप्छ भन्दै घन्टौं सम्म हिडेर डाँडाकाँडामा जाने अथवा जाँहा टावर टिप्छ त्यो बस्तिमा पुगेर आफन्त र छरछिमेक सँग कुराकानी गर्नुपर्ने जुन अवस्था थियो त्यो कुराको अन्त्य गरिएको छ । हाल बडिगाड गाउँपालिकाका सम्पूर्ण जनसमुदाय संचारको पहुँचमा हुनुहुन्छ भने क्रमश सबै वडाहरुमा ईन्टरनेट विस्तारको तयारीमा समेत रहेका छौं । सडकको कुरा गर्नु पर्दा दश वटै वडाहरुको केन्द्र सम्ममा मोटरबाटोको पहुँच पुर्याइएको छ भने केही वडाहरुको केही बस्तीहरुमा अझै पनि मोटरबाटो पुगेको छैन तर गाउँपालिका सबै बस्तिहरुमा मोटरबाटो विस्तार गर्ने उदेश्यका साथ अगाडी बढिरहेको छ । निर्माण भएका ग्रामिण सडकहरुको अवस्था पनि त्यती सन्तोषजनक छैन र गाउँपालिका थप स्तरउन्नतीमा लागेको छ भने सबै वडाका मोटरबाटो व्यवस्थित बनाउनका लागी गाउँपालिकाले गुरुयोजना बनाई अगाडी बढेको छ ।
स्वास्थ्य सेवाको प्रभावकारीता कस्तो छ स्वास्थ्यको क्षेत्रमा गाउँपालिकाले गरेका महत्वपूर्ण कार्यहरु भन्नुपर्दा ?
गाउँपालिकाले स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरेको छ किनकी स्वास्थ्य भनेको मानिसको सबैभन्दा ठुलो सम्पत्ती हो । स्वास्थ्यमा विगतमा भएका कमी-कमजोरीलार्ई सच्याउँदै व्यवस्थित बनाउँदै लगिएकोे छ । स्वास्थ्य तर्फका नियमित कार्यहरु बाहेक जनतासँग गाउँपालिका अध्यक्ष स्वास्थ्य बिमा कार्यक्रम संचालन गरी सबै नागरीकलाई स्वास्थ्य बिमाको पहुँचमा समेट्ने कामको सुरुवात गरिएको छ । नेपालमै महामारीको रुपमा रहेको क्षयरोगबाट बडिगाड गाउँपालिकालाई मुक्त बनाउनका लागि क्षेयरोग मुक्त बडिगाड गाउँपालिका अभियानको सुरुवात गरिएको छ । सामान्य नागरीकलाई पनि स्वास्थ्यको पहुँचमा ल्याउनका लागि समय–समयमा निशुल्क बिशेषज्ञ स्वास्थ्य शिविर संचालन गरिएको छ भने समय–समयमा आँखा शिबिर समेत संचालन गरी आँखामा समस्या भएका आम नागरीकको निशुल्क अप्रेशन समेत गरिएको छ । साथै अपाङ्ग तथा ज्येष्ठ नागरिकहरुलाई विशेष मध्यनजर गरी स्वास्थ्यकर्मीहरुबाट घरमै गई स्वास्थ्य सेवा समेत उपलब्ध गराउँदै आएका छौँ ।
शैक्षिक विकासको लागी गाउँपालिकाले कसरी काम गर्दै आईरहेको छ ?
हामी सबैलाई थाहा नै छ की शिक्षा भनेको मानिसको तेस्रो आँखा हो । मेरो कार्यकालको सुरुवात सँगै मैले सबै शैक्षिक संस्थाहरुको पूर्वाधारको पाटोलाई व्यवस्थित बनाएको छु भने व्यवस्थित हुने क्रममा पनि रहेका छन् । बालकक्षा सबैभन्दा महत्वपूर्ण शिक्षाको सुरुवाती चरण रहेकाले बालकक्षाहरुलाई व्यवस्थित गरी आवश्यक रहेको बस्तीहरु तथा विधालयमा नयाँ बालकक्षाको सुरुवात गरी गाउँपालिकाले बालसहजकर्ताको समेत व्यवस्था गरेको छ भने भइरहेको बालकक्षालाई व्यवस्थित बनाई सहजकर्ताहरुलाई मन्टेश्वरी तालिमको समेत व्यवस्था गरिएको छ । विधालय भर्ना अभियान कार्यक्रमलाई प्राथमिकतामा राखी विधालय भन्दा बाहिर रहने बालबालिकाको अन्त्य गरिएको छ ।
स्थानीय पाठ्यक्रम कक्षा १-८ सम्म निर्माण गरी हाल सम्म कक्षा १,२,३ को पाठ्यपुस्तक विधार्थीको हातहातमा पुर्याइएको छ भने बाँकी कक्षाको पाठ्यपुस्तक लेखन कार्य भइरहेको छ । सकारात्मक सोचको विकास गर्नका लागी बडिगाड गाउँपालिका भित्रका सम्पूर्ण शिक्षक अभिभावकहरुलाई विभिन्न समयमा सकारात्मक सोचको कार्यक्रम संचालन गरिएको छ । जहाँ विधार्थी त्यहाँ शिक्षक भन्ने मुल नाराका साथ विधार्थी कम भएको ठाउँबाट विधार्थी धेरै भएको विधालयमा दरबन्दी मिलान तथा व्यवस्थापन कार्य संचालन गरिएको छ । विभिन्न किसिमका शिक्षकहरुलाई तालिम तथा विधार्थीहरुलाई विभिन्न अतिरिक्त क्रियाकलाप संचालन गरिएको छ । बडिगाड गाउँपालिका भित्रका विधालयहरुमा परिक्षा प्रणालीलाई व्यवस्थित बनाई पालिका स्तरीय परिक्षा संचालन गरिएकोे छ भने विभिन्न समयमा पठन सिपको विकासका लागि पढाई मेला, शैक्षिक सामाग्री प्रदर्शनी मेला संचालन गरिएको छ । गाउँपालका भित्रका शैक्षिक कार्यक्रममा एकरुपता ल्याउनका लागि शैक्षिक क्यालेन्डर निर्माण गरी शैक्षिक कार्यक्रम संचालन गरिएको छ ।
महिला भएकै कारण स्थानीय सरकारमा रहेर भूमिका निर्वाह गर्दै जाँदा के कस्ता चुनौती र समस्या आएका छन् ?
महिला र पुरुष बीचको भिन्नता र खाडल पक्कै पनि अझै मेटिएकोे छैन । म एक नारी नेतृत्वमा रहेर काम गर्दै जाँदा धेरै चुनौती र समस्याहरु रहेको मैले पनि महशुस गरेको छु । नेतृत्वमा भएको एक नारीलाई समेत महिला भएकै कारण थुप्रै समस्या चुनौतीहरु आउँछन् भने अन्य नेतृत्व आउन चाहना गर्ने र सामान्य नारीहरुको अवस्था कस्तो होला भन्ने कुराले समेत बेलाबेलामा मलाई झस्क्याउने गर्दछ । म आफु म भएको कारण मलाई परिचयमा समेत चुनौती छ किनकि अपरिचित ठाउँमा तथा अपरिचित व्यक्तिहरुले मलाई पहिले नै हजुर उपाध्यक्ष हो भनेर भन्नुहुन्छ किनकी अझै पनि समाजमा महिलाहरु उपाध्यक्ष नै हो र पुरुषहरु अध्यक्ष नै हो भन्ने मानसिकता रहेको महशुस मलाई भएको छ । महिला भएकै कारण समय व्यवस्थापन र भूमिकामा मलाई चुनौती देखिएको छ ।
गाउँपलिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के के छन् ?
गाउँपालिकामा ठुला योजनाका रुपमा विद्यालयका भवन, मोटरबाटो तथा खानेपानीका योजनाहरु रहेका छन् । करिव २० करोड भन्दा बढि रकम बहुबर्षिय मोटरबाटो निर्माणमा १२ करोड भन्दा बढि रकम बहुबर्षिय विद्यालयको भवन निर्माण र ४ करोड भन्दा बढि रकम बहुवर्षिय खानेपानी निर्माणमा काम भईरहेको छ । सथै ईलाका प्रही कार्यालयको भवन निर्माण, वाडा कार्यालयको भवन निर्माण, गाउँपालिका भित्र हाईड्रोजन ग्यासको उत्पादन, पोषणमैत्री बडिगाड गाउँपालिका कार्यक्रम, पालिका स्तरीय खेलमैदान निर्माण, पालिका स्तरिय फोहोरमहिला व्यवस्थापन, पालिका स्तरीय अस्पताल निर्माण, गाउँपालिकामा केन्द्रीय विद्युत लाइनको सेवा विस्तार साथै निजि कम्पनीबाट निर्माणाधिन अवस्थामा रहेको भिमखोला साना लघु जलविद्युत परियोजना तथा अन्य विभिन्न योजना तथा परियोजनाहरु रहेका छन् ।
सामाजिक विकृतिलाई नियन्त्रण गर्नको लागि के कस्तो भुमिका खेल्दै हुनुहुन्छ ?
अहिलेको परिवेशमा सामाजिक विकृतिलाई नियन्त्रण गर्नका लागी स्थानीय सरकारलाई चुनौतीको विषय बनेको छ । हाम्रो गाउँपालिकामा पनि थुप्रै सामाजिक विकृतिहरु रहेका छन् जसलाई नियन्त्रण गर्नका लागि जनप्रतिनिधि र कर्मचारीहरुसँगै आम समुदायसँग हातेमालो गरी अगाडि बढेका छौं । बालविवाहलाई नियन्त्रण गर्ने नीतिको अबलम्बन गरिएकोे छ भने घरेलु हिंसा विरुद्ध सचेतना कार्यक्रमहरु संचालन गरी न्यायिक समितिलाई कृयाशिल बनाइएको छ । मदिराको सेवन तथा विक्री वितरणलाई नेपाल प्रहरी तथा नगर प्रहरीसँग समन्वय गरी नियम लागु गरिएको छ । समाजमा हुने छुवाछुतलाई प्रोत्साहीत नगरी निरुत्साहित गर्दै लगिएको छ । युवाहरुका लागि दुव्र्यसनी सम्बन्धी चेतनामूलक कार्यक्रम गरिएको छ । साथै धर्म, जात विशेष र संस्कृतीको नाममा हुने गलत कार्यहरुको नियन्त्रण गरिएको छ ।
आफ्नो गाउँपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचार–प्रसार कसरी गरिरहनु भएको छ ?
नेपालको जस्तो नक्सा भएको जिल्ला भनेर चिनिने बालगुङ जिल्लामा पर्ने बडिगाड गाउँपालिका साथै नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षको छिमेकी गाउँपालिका बडिगाड गाउँपालिका पर्यटकीय दृष्टिकोणले थुप्रै सम्भावना बोकेको गाउँपालिका हो । बडिगाड गाउँपालिका भित्र रहेका धार्मिक एवम् पर्यटकीय क्षेत्रहरुको पहिचान गरी डि.पि.आर.तयार पारी हामीहरु पूर्वाधार निर्माणको चरणमा छौं भने आन्तरिक पर्यटकहरुलाई पहिलो पर्यटकको रुपमा पहिचान गरी सोही बमोजिम प्रचार–प्रसार गर्नुको साथै विभिन्न सामाजिक संजालको प्रयोग गरी प्रचार–प्रसार गरिएको छ । साथै समय समयमा जनप्रतिनिधिहरु, कर्मचारीहरु, शिक्षक विधार्थी तथा आमासमुह, क्लब, संघ–संस्थाबाट भ्रमण गरी प्रचारप्रसार गरिएकोे छ ।
कर्मचारी र जनप्रतिनिधहरु बीचको सम्बन्ध कस्तो छ नि ?
कर्मचारी र जनप्रतिनिधिहरु भनेका एक सिक्काका दुई पाटा जस्तै हुन । एक पाटाले काम नगर्दा अर्को पातलो हुने र काम नगर्ने निश्चित छ । स्थानीय सरकारलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि कर्मचारी र जनप्रतिनिधि दुवैको महत्वपूर्ण जिम्मेवारी रहने गर्दछ । बडिगाड गाउँपालिकामा हाल सम्मको सम्बन्ध अत्यन्तै राम्रो रहेको छ । हामी जनप्रतिनिधिहरुले निर्माण गरेको नीति तथा कार्यक्रमहरुलाई कार्यान्वयन गर्नका लागि कर्मचारी साथीहरुले अत्यन्तै महत्वपूर्ण भुमिका निर्वाह गर्नु भएको छ । हालसम्म कुनै पनि कार्यपालिका बैठक तथा गाउँसभामा कर्मचारी र जनप्रतिनिधिहरुबीच मतभेद देखिएकोे छैन । जनप्रतिनिधिहरुमा समेत फरक–फरक पार्टीबाट प्रतिनिधित्व गरेता पनि हालसम्म जनप्रतिनिधिहरुबीचमा मतभेद दखिएको छैन जसका कारणले कर्मचारी साथीहरुलाई समेत कार्यक्रमहरु कार्यान्वयन गर्नका लागी सहज भएको छ । मलाई विश्वास छ मेरो पुरै कार्यकालभर जनप्रतिनिधि र कर्मचारीबीचकोे सम्बन्ध सुमधुर रहने छ ।
तपाइको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ?
स्थानीय तहको नेतृत्वमा रहेको जो कोही साथीहरुलाई आफ्नो गाउँपालिकालाई सबै भन्दा राम्रो बनाउँछु भन्ने आशा र ईच्छा हुनु स्वभाविक हो तर मेरो बिचारमा आशा र इच्छा मात्र भएर नहुँदो रहेछ किनकी आफ्नो गाउँपालिकाको श्रोत, साधन र सम्भावना पनि उतिकै बलियो हुनुपर्दो रहेछ । मेरो कार्यकालमा बडिगाड गाउँपालिकाको सपना धेरै र ठुला भएता पनि सम्भव हुने तथा गाउँपालिकाको श्रोत र साधनले भ्याउने गरी केही कामहरु गर्ने योजना बनाएको छु ।
गाउँपालिकाको वडा केन्द्र सम्म बारै महिना यातायात ढुक्कसँग चल्ने, हरेक बालबालिका विधालयको पहुँचमा र अनाथ बालबालिकाहरुका लागी गाँस, वाँस, कपास सहितको आवसिय शिक्षा, हरेक नागरीकहरु स्वास्थ्य बिमा कार्यक्रममा बिमित, क्षेयरोग मुक्त बडिगाड गाउँपालिका, पोषणमैत्री बडिगाड गाउँपालिका, एक घर एक धारा खानेपानी, कृषकहरुले उत्पादन गरेको कृषी उत्पादनको बजारीकरणको सुनिश्चित, उज्यलोमैत्री, संचारमैत्री र प्रविधिमैत्री बडिगाड गाउँपालिका, पर्यटनमैत्री बडिगाड गाउँपालिका, व्यवस्थित पालिका स्तरीय खेलमैदान, हाईड्रोजन ग्याँसको उत्पादन, निजि कम्पनीसँग सहकार्य गरी विधुत उत्पादनका लागि मेघा प्रोजेक्टको सुरुवात, ढुङ्गाखानीको स्थापना तथा संचालन, अपाङ्ग तथा ज्येष्ठ नागरीकमैत्री गाउँपालिका, लघु उद्योगको स्थापना, लोकल मदिरा ब्रान्डिङ तथा बिक्री वितरण, भाँगो खेतीलाई नगदे बालीको रुपमा सुचिकृत गरी बजारीकरण, पुरुष तथा महिलाहरुलाई सिपमूलक तालिमको व्यवस्था गरी स्वरोजगार बनाउने छ ।
अन्त्यमा आफ्ना पालिकाका बासिन्दालाई के भन्न चाहानुहुन्छ ?
हजुरको यो अनलाईन मार्फत मलाई आफ्नो महत्वपूर्ण मत दिई गाउँपालिका अध्यक्ष जस्तो गरिमामय पदमा पुर्याउनुहुने मेरो गाउँपालिकाका सम्पूर्ण भगवानरुपी जनसुदायलाई पुन म धन्यावद एवम् आभार प्रकट गर्दछु भने म तपाईहरुको सेवक बनेर सेवा गरिरहने छु भन्ने बिश्वास दिलाउन चाहान्छु । मलाई थाहा छ मलाई निर्वाचित गराउँदै गर्दा हजुरहरुले म सँगबाट ठुलो आशा र अपेक्षा राख्नुभएको थियो कतिपय पुरा भएको होलान्, कतिपय हुने क्रममा होलान् वा कतिपय असम्भव भए होलान् कृपया धैर्यता गर्दिनुहोला काम हुन्छ तर समय अवश्य लाग्छ ।
अहिले समाजमा आशा र सम्भावनाले भन्दा पनि चिन्ता र निराशाले, सकारात्मक सोचले भन्दा पनि नकारात्मक सोचले आम समुदायको मन र मस्तिस्कमा गति लिएको छ । मेरो सम्पूर्ण बडिगाडवासी समुदायमा अनुरोध छ की आजकै दिन देखी सकारात्मक सोचको साथ बडिगाड गाउँपालिकाले अगाडी बढाएका कामहरुमा हातेमालो गरी ’हाम्रो बडिगाड ः रामो बडिगाड’, ’समृद्द बडिगाड, खुशी बडिगाडवासी’ बनाउन लागौं भन्न चाहान्छु । अहिले समाजमा जनश्रमदान भन्ने शब्द बोलिमा र कागजमा मात्र सिमित भएको छ । आम नागरीकले आफ्नो घरको काम पनि स्थानीय सरकारले नै गरिदिए हुन्थ्यो भन्ने सोचको बिकास हुँदै गएको छ जसले दिर्घकालिन रुपमा निश्चित रुपमा राष्ट्रलाईनै असर पर्ने देखिन्छ त्येसैले म बडिगाडवासी सँग विशेष अपिल गर्न चाहान्छु की जनश्रमदान गर्ने बानीको विकास गरौं र हाम्रो गाउँपालिकालाई श्रमदान गर्ने गाउँपालिकाको रुपमा चिनाउँदै सब्य नागरीककोे परिचय दिलाउँ भन्न चाहान्छु साथै गाउँपालिकासँग, जनप्रतिनिधिसँग, कर्माचारीसँग अथवा कुनै विषयसँग हजुरहरुका केही गुनासाहरु भएको भए सामाजिक संजाल मार्फत नभई, सार्वजनिक स्थानहरुमा विना प्रमाण भ्रम सिर्जना नगरी गाउँकार्यपालिकाको कार्यालयमा आई आफ्ना गुनासाहरु तथा सुझाव राख्नका लागी विनम्र अनुरोध गर्दछु जाँहा बडिगाड गाउँपालिकाले हजुरहरुको समस्या र गुनासाहरुलाई उच्च प्राथमिकतामा राखी सम्बोधन गर्नेछ ।