तनहुँ । व्यास नगरपालिका कार्यालयले नगर क्षेत्रका १०० अगुवा कृषकलाई कृषि र पशुपालन तालिम प्रदान गरेको छ ।
गोवद्र्धन शर्मा स्मृति कोषको आयोजनामा शुक्रबारदेखि सुरु भएको २ दिने तालिममा व्यास नगरपालिकाको वडा नम्बर ५, ७, ९, १० र ११ वडाका अगुवा कृषक सहभागी छन् ।
तालिममा भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा. राजेशकुमार चौधरी, व्यास नगरपालिका कृषि तथा पशुपन्छी विभाग प्रमुख डा. मनोज विश्वकर्मा र पशु चिकित्सक डा. सञ्जय श्रेष्ठले बाख्रा, गाईभैंसी, पशु चौपाया लगायत पशुपालनबारे ख्याल गर्नुपर्ने पक्ष र अनुदानबारे र व्यास नगरपालिका कृषि शाखा प्रमुख प्रतिभा बगाले, कृषि ज्ञान केन्द्र तनहुँका बाली संरक्षण अधिकृत किरण परियारले कृषि बालीमा ख्याल गर्नुपर्ने पक्ष, शत्रुजीव र मित्रुजीवको पहिचान र वन क्षेत्रको विकास र संरक्षणबारे नारायण कोइरालाले सहजीकरण गरेको स्मृति कोषले जनाएको छ ।
५०–५० जनाको समूह बनाएर तालिम दिइएको छ ।
व्यास नगरपालिका क्षेत्रका अगुवा कृषकलाई संगठित गरी आफूहरूले सीप हस्तान्तरण गर्न तालिम दिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । व्यास नगरपालिका क्षेत्रलाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउन आफूहरू जुटेको समेत नगर प्रमुख न्यौपानेले बताए ।
करीब १८ वर्षदेखि कोषले प्रांगारिक खेती प्रवद्र्धनको लागि विभिन्न कृषक समूह र सहकारीलाई तालिम दिँदै आएको कोषका महासचिव रामचन्द्र पोखरेलले बताए ।