काठमाडौं । ललितपुरमा आजदेखि रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदैछ ।
शनिबार रथयात्राको पहिलो दिन मच्छिन्द्रनाथको रथलाई दिउँसो ४ बजेपछि पुल्चोकबाट तानेर गाबहालमा पुर्याइनेछ ।
यसअघि मच्छिन्द्रनाथको रथ अघिपछि लगाएर तानिने मीननाथलाई पाटनको टंगलमा निर्माणाधीन रथमा रथारोहण गरिनेछ ।
त्यसपछि मीननाथको रथलाई टंगलबाट तानेर पुल्चोक पुर्याइएपछि मात्र रातो मच्छिन्द्रनाथको रथलाई मीननाथको रथको पछि लगाएर पुल्चोकबाट तानिनेछ । शनिबार मात्र मीननाथको रथलाई अघि लगाएर तानिनेछ ।
आईतबारदेखि मीननाथको रथलाई मच्छिन्द्रनाथको रथको पछि लगाएर तानिने चलन छ ।
शनिबार गाबहालका वासिन्दाले छवयालाभू मनाइरहेका छन् भने अहिले मच्छिन्द्रनाथको दर्शनका लागि पुल्चोकमा भक्तजनको घुइँचो लागेको छ ।
शनिबार रथ तानिने भएकाले मच्छिन्द्रनाथको रथमा हरियो धूपी लगायतले सिँगारपटार गर्ने काम हुनेछ ।
रथलाई जात्रा अवधिभर ललितपुरको विभिन्न टोलमा घुमाउने प्रचलन रहेको छ । रथ तान्नुअघि र गन्तव्यमा पुगेपछि गुरुको पल्टनबाट सलामी दिने चलन छ । मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावालाखेलमा पुर्याएर भोटो देखाइन्छ । यससँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुङमतीमा लगिएपछि जात्रा समापन हुन्छ ।
१२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेव, काठमाडौंका तान्त्रिक बन्धुदत्त आचार्य र ललितपुरका किसान ललितचक्रले रातो मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट ल्याएको किंवदन्ती रहेको छ ।