काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न कानून र प्रशासनिक संयन्त्रको प्रयोगसँगै आमनागरिकमा स्वजागरण हुनुपर्ने बताएका छन् ।
परराष्ट्र मन्त्रालय र जीवन विज्ञानको संयुक्त आयोजनामा शनिबार राहदानी विभागमा आयोजित एक दिवसीय ध्यान विज्ञान कार्यक्रमको शुभारम्भ गर्दै उनले सभ्य समाजका लागि कानूनी शासनसँगै नागरिकमा चेतना पनि अभिवृद्धि हुनुपर्ने बताए ।
‘सुशासनका लागि कानून र प्रशासनिक विधि चाहिन्छ, कानूनको शासन स्थापित गर्नैपर्छ तर कानून र राज्य संयन्त्रद्वारा मात्रै पनि धेरै विषय हल गर्न सकिँदैन,’ उनले भने, ‘राज्य संयन्त्रका जिम्मेवार व्यक्ति तथा आम नागरिक राष्ट्रप्रति इमान्दार होऊन्, कानून र प्रशासन मात्रै लगाउनुपर्ने नहोस्, आफैंले राम्रो आचरण अपनाउने अवस्था आओस्, यति हुन सकेमा मात्र भ्रष्टाचार, अनियमितता न्यूनीकरण भएर सुशासन कायम हुन्छ ।’
समाज तथा व्यक्तिको मनमा रहेको नकारात्मकता हटाउन वैज्ञानिक र प्रामाणिक विधिका रूपमा योगध्यान रहेको उल्लेख गर्दै उनले योग–ध्यानलाई सबैले अनुशरण गर्नुपर्नेमा जोड दिए । नेपाल योग–ध्यानको उद्गम थलो र उपयुक्त वातावरणका रूपमा रहेको जनाउँदै उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत योग–ध्यानको महत्त्व तथा यसका प्रभावबारे विशेष योजना ल्याइने बताए ।
योग–ध्यान स्वजागरणको वैज्ञानिक विधि भएको र आफूले विगत लामो समयदेखि योग तथा ध्यानको अभ्यास गर्दै आइरहेको र त्यसबाट लाभ समेत लिइरहेको समेत उनले जानकारी गराए । यसअघि आफू गृहमन्त्री हुँदा मन्त्रालय र मातहतका निकायमा नियमित रूपमा योग–ध्यानको अभ्यास हुने गरेको स्मरण गर्दै उनले त्यसबाट सकारात्मक नतिजा हासिल भएको उदाहरण सुनाए ।
ध्यान विज्ञान कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, मन्त्रालयका वरिष्ठ कर्मचारी, रादहानी विभाग र कन्सुलर सेवा विभागलगायत निकायका करीब १०० कर्मचारीको सहभागिता छ । कार्यक्रममा जीवन विज्ञानका प्रशिक्षक रमेश नेपाल, एलपी भानु शर्माले प्रशिक्षण दिने कार्यक्रम छ ।