सुर्खेत । कर्णाली हाफ म्याराथनको उपाधि पुरुषतर्फ नेपाली सेनाका नरेन्द्र रावल र महिलातर्फ विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) की पुष्पा भण्डारीले हात पारेका छन् ।
प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिबार बिहान भएको प्रतियोगितामा नेपाली सेनाका रावत र एपीएफकी भण्डारी प्रथम भएका हुन् । भण्डारी एपीएफबाट अन्तर्राष्ट्रियस्तरका दौड प्रतियोगितामा पनि सहभागी हुँदै आएकी छन् ।
प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाकै रामजी बस्नेत दोस्रो र श्रीकश राई तेस्रो भएका छन् । सशस्त्र प्रहरी बल एपीएफका राजन चौधरी चौथो भएका छन् ।
महिलातर्फ नेपाली सेनाकी सिर्जना पाण्डे दोस्रो र जुम्लाकी राज्यलक्ष्मी रावत तेस्रो भएकी छन् । प्रतियोगितामा प्रथम हुनेलाई ५५ हजार, दोस्रो हुँनेलाई ३० र तेस्रोलाई २० हजार रूपैयाँ पुरस्कार प्रदान गरिएको आयोजक समेत रहेका वीरेन्द्रनगर नगरपालिकाका निवर्तमान मेयर देवकुमार सुवेदीले जानकारी दिए ।
यसैबिच कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समयलाई चिनेर दौडिएमात्र लक्ष्यमा पुग्न सकिने बताएका छन् ।
प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रेस नेपालले आज आयोजना गरेको कर्णाली हाफ म्याराथन प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुद मात्र नभई हरेक ठाउँमा समयलाई चिनेर दौडिएमा मात्र सही गन्तव्यमा पुग्न सकिने बताए ।
कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै समयमै सम्पन्न गर्न दबाबस्वरुप यो प्रतियोगिताको आयोजना भएको आफूलाई लागेको मुख्यमन्त्री कँडेलले बताए ।
कर्णालीको विकासलाई माग आकाङ्क्षाभन्दा पनि स्रोतसाधनको उपलब्धताका आधारमा कार्ययोजना बनाई काम गरिने उनको भनाइ छ ।