दमौली । तनहुँको दमौलीस्थित बुल्दीखोलामा शनिबार आयोजित बृहत् सरसफाइ अभियानमा नेपाली सेनाको टोलीले १ हजार केजीभन्दा बढी फोहोर संकलन गरी प्रथम भएको छ ।
युवा अभियान्ता सुदीप गफ्फारको सक्रियतामा सञ्चालित सरसफाइ अभियानमा धेरै फोहोर संकलन गर्ने व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) लाई पुरस्कृत गरिएको छ ।
व्यास नगरपालिका–१ करङकाठदेखि व्यास नगरपालिका–३ सेतीबुल्दी दोभानसम्म भएको सरसफाइ अभियानमा सेनाले १ हजार २४ किलो फोहोर संकलन गरेको थियो । व्यास नगरपालिका–२ स्थित पुलजीप टोल विकास संस्थाले ९४० दशमलव ७ किलो फोहोर संकलन गरी दोस्रो स्थान हासिल गरेको छ ।
प्रथम भएको समूहलाई नगद १० हजार र प्रमाणपत्र तथा दोस्रो भएको समूहलाई नगद ५ हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।
विद्यालयस्तरीय बालबालिकाबीच भएको प्रतिस्पर्धामा न्यू मनकामना बोर्डिङ स्कूल प्रथम र कन्काइ ग्लोबल एकेडेमी दोस्रो भएको छ । मनकामनाका विद्यार्थी समूहले ६४५ दशमलव ९ र कन्काइका विद्यार्थी समूहले ५१६ दशमलव ९ किलो फोहोर संकलन गरेका थिए । उनीहरूलाई क्रमशः ४ हजार र २ हजार रुपैयाँ नगद प्रदान गरिएको छ । त्यसक्रममा कूल ५४ समूहको सहभागिता रहेको थियो ।
बुल्दीखोला दिनप्रति दिन प्रदूषित बन्दै गएकाले सरसफाइ अभियान सञ्चालन गरिएको अभियान्ता गफ्फारले जानकारी दिए । खोला सरसफाइसँगै प्रतियोगितात्मक रूपमा सञ्चालन गरिएको अभियानले सरसफाइ गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको उनको भनाइ छ ।
बृहत् सरसफाइ अभियानका लागि टोल, विद्यालय, क्याम्पस, संघसंस्था लगायतबाट साथ र सहयोग पाएको बताए । बुल्दीखोला स्वच्छ र सफा राख्ने उद्देश्यसहित बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको उनले बताए । उनले भने, ‘भावी पुस्ताका लागि खोला संरक्षण गर्नुपर्ने अवस्था आएको छ । खोलाको अवस्था देखेर सरसफाइ अभियान सञ्चालन गर्ने जमर्को गरेको हुँ ।’
बुल्दीखोला धार्मिक महत्त्वसँग जोडिएको उल्लेख गर्दै उनले भने, ‘महर्षि वेदव्यासले बुल्दीखोलामा हात धोएको धार्मिक महत्त्व छ । त्यसकारण पनि यसको संरक्षण गर्नुपर्छ । यहाँका ढुंगाढुंगामा देवताको बास छ ।’
उनकै नेतृत्वमा आगामी जेठ ५ गते भानु र बन्दीपुरको सिमानास्थित चुँदीखोलामा बृहत् सरसफाइ अभियान सञ्चालन हुँदैछ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले एउटा युवाको सक्रियतामा बुल्दीखोला बृहत् सरसफाइ अभियान हुनु खुशीको कुरा भएको बताए ।
उनले भने, ‘यो अभियानमा सबैको सद्भाव र सहयोग हुन राम्रो कुरा हो ।’
व्यास नगरपालिकाका पूर्व प्रवक्ता मोहनकुमार श्रेष्ठले समाज बदल्न पहिला आफू बदलिन पर्ने बताउँदै त्यसको नेतृत्व एउटा युवाले गरेकामा खुशी व्यक्त गरेका छन् ।