भद्रपुर । लामो समयपछि वर्षा भएसँगै झापाका किसान खुसी भएका छन् । आज बिहानैदेखि पानी परेपछि किसानले लगाएको चैते धान, मकै, सुपारीलगायतका बालीलाई राहत मिलेको भन्दै किसान खुसी भएका हुन् ।
झापा गाउँपालिका–७ मा मकैखेती गरेका जीवनाथ लम्साल आज बिहानैदेखिको पानीले अलिकति भए पनि राहत मिलेको बताउछन् । उनले भने, “धेरै समयपछि माटो भिज्ने गरी पानी परेको छ, हाम्रो जस्तो सुक्खा माटो भएको क्षेत्रलाई यसले राम्रो असर गर्छ ।”
आजको पानीले घोगा लाग्दै गरेको मकैका लागि रामवाणको काम गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना झापा एकाइका प्रमुख रविन्द्र सुवेदी बताछन् । “वर्षा ढिलो भए पनि माटो भिजेको छ, सबै किसानका लागि राहतको काम गर्छ”, प्रमुख सुवेदीले भने ।
लामो समयसम्म पानी नपर्दा नदीबाट सिँचाइ भएको ठाउँमा पानीको कमी हुँदै गएको तथा भूमिगत सिँचाइको सुविधा भएका क्षेत्रमा बिजुलीको भोल्टेज कम हुँदा किसानले आवश्यक सिँचाइ गर्न नपाएको बताएका छन् ।
गौरीगञ्ज गाउँपालिका–३ का सीताराम खड्काका अनुसार भूमिगत सिँचाइको व्यवस्था भए पनि खडेरीका कारण सबै बोरिङमा सुक्खा लागेको छ । “लामो समयको खडेरीका कारण धान, गहुँ आधाजति सुकिसकेका थिए, उत्पादनमा कमी भए पनि आजको पानीले राहत मिल्नेछ”, खड्काले भने । झापाका विभिन्न भागमा आज बिहानैदेखि सामान्य वर्षा भइरहेको छ ।
यसैबिच गर्मी बढेर पानीका स्रोतका रुपमा रहेका मुहान सुक्दै गएका बेला एक साताभित्रै दुईपटक वर्षा भएपछि महोत्तरीमा सर्वसाधारणले राहत महसुस गरेका छन् ।
वैशाखको अन्तिम साताको प्रारम्भ र अन्त्यतिर दुईपटक पानी परेपछि अब पानीका स्रोतका रुपमा रहेका मुहान रसाउने सर्वसाधारणले आश गरेका हुन् ।
घामको रापले खानेपानीका इनार, चापाकल र खोल्सीका जरुवा सुकेपछि जिल्लाका धेरैजसो बस्तीमा खानेपानीको हाहाकार नै पर्लाजस्तो भइसकेको छ । यसैगरी पोखरी, नदी र खोल्साखोल्सी स्याप्पै सुकेपछि गाईबस्तुलाई पानी खुवाउन, आहाल बसाउन र चर्को घामले घाँसपात डढेपछि चरनको पनि समस्या बढिरहेकामा पानीले सर्वसाधारणमा अब मुहान रसाउने आश जागेको हो ।
“यसै साताको सुरुमा पनि एक दिन राम्ररी नै पानी प¥यो, आज पनि बिहानैदेखि सिमसिम पानी परिरहेको छ, यसले सुख्खा माटोमा चिस्यान भर्ने र पानीका स्रोतका मुहान रसाउने आश छ” भङ्गाहा–५ कर्पुरगञ्जका ६० वर्षीय रामजुलुम बाँतर भन्छन्, “यो पानीले चउर र पर्तीजग्गामा घाँस पलाउला, यसपछि अलि राहत पाइएला ।”
अहिले जिल्लाभर नै पानीका स्रोतका रुपमा रहेका मुहान सुक्दै गएका छन् । जिल्लाका उत्तरी क्षेत्रका बर्दिबास, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रका अधिकांश बस्तीमा खानेपानीको हाहाकार नै परेको छ । “र्हेनोस् न, हाम्रो यो वडाका पाँच टोलबस्तीभित्र ३०० को हाराहारी चापाकल होलान्, कुनैमा पानी झर्दैन” भङ्गाहा–४ का पूर्व वडाध्यक्ष अशोककुमार महतो भन्छन्, “इनारमा पनि बाल्टिन डुब्न छोडेको छ, खै थोरै पानी त पर्यो, अब मुहान रसाउँछ कि १” आफ्नो वडाका रामनगर, प्रेमनगर, थारुटोल बनरा, पलार र टोका बस्तीका करिब पाँच सय घरधुरीबीच चार÷पाँचवटा इनारबाट खानेपानीको जोहो भइरहेको महतोको भनाइ छ ।