काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मनसुनजन्य विपद् व्यवस्थापनका लागि मौसम पूर्वानुमान् र विपद्जन्य पूर्व सूचना प्रणालीलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् ।
जल तथा मौसम विज्ञान विभागले सोमबार सरदरभन्दा बढी वर्षाको आकलन गरिएको तथ्यांक सार्वजनिक गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले पूर्व तयारी जोड दिए ।
उनले जलवायु परिवर्तनका कारण मनसुनजन्य घटना बढिरहेको र यसको क्षति न्यूनीकरण गर्न पूर्व सूचना प्रणालीलाई भरपर्दो बनाइने बताए । विभागले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म रहेको तथ्यांक सार्वजनिक गरेको छ ।
मन्त्री बस्नेतले आगामी मनसुनमा विपद्जन्य घटना बढ्न सक्ने भएकाले सतर्कता अपनाउन निर्देशन दिए । ‘जलवायु परिवर्तनका कारण मनसुनजन्य घटना बढिरहेको अवस्थामा यसवर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना देखिएकाले बाढीपहिरो जस्ता विपद्जन्य घटना बढ्न सक्छ,’ उनले भने, ‘यस्ता घटना न्यूनीकरण गर्न सरोकारवालाले समयमा पूर्व तयारी गर्न आवश्यक छ ।’
मन्त्री बस्नेतले विपद्का पूर्व सूचना प्रणाली व्यवस्थित बनाउन प्रतिक्रिया लिने र सो प्रतिक्रियाको आधारमा नीति तथा योजना तर्जुमा गर्न विभागलाई निर्देशन दिए । मनसुनजन्य विपद्बाट हुने सम्भावित क्षति न्यूनीकरणका उपाय अवलम्बन गर्न कुनै कसर बाँकी नराख्ने मन्त्री बस्नेतको भनाई छ ।
‘पूर्व सूचना प्रणाली विकासका लागि जनशक्ति अपुग छ, आवश्यक जनशक्ति पूर्ती गर्नुपर्नेछ,’ उनले भने, ‘वित्तीय स्रोतको अभाव अर्को मुख्य चुनौती रहेकाले वित्तीय स्रोत व्यवस्थापनका लागि पहल कदमी आवश्यक छ ।’