पर्सा । वीरगञ्ज महानगरपालिकाले विद्यार्थीको हौसला र उत्प्रेरणा जगाउनको लागि ‘कक्षा कोठामा मेयर’ कार्यक्रम सुरुआत गरेको छ ।
वीरगञ्ज महानगरपालिका नगर प्रमुख (मेयर) राजेशमान सिंहले सोमबार वीरगञ्जको बिर्तास्थित त्रिजुद्ध माध्यमिक विद्यालयबाट ‘कक्षा कोठामा मेयर’ कार्यक्रम शुभारम्भ गरेका हुन् ।
नगर प्रमुख सिंहले हप्ताको १ दिन विद्यालयको कक्षा कोठामा नै पुगेर विद्यार्थीलाई हौसला तथा उत्प्ररेणा जगाउने खालका कार्यक्रम अघि बढाइने बताए । ‘यो कार्यक्रमले सामुदायिक विद्यालय र विद्यार्थीको समस्याको पहिचान गर्न सघाउनेछ,’ उनले भने, ‘कक्षा कोठामै पुगेर विद्यार्थीहरूलाई उत्प्रेरणा बढाउन मोटिभेसनल कक्षा लिँदै अध्ययनलाई मुख्य केन्द्रमा राखेर अगाडि बढाइनेछ ।’
नगर प्रमुख सिंहले आफ्ना अग्रजहरूको योगदानको सम्मान गर्दै शिक्षा प्रदान गर्ने गुरुहरूको सम्मानमा कुनै खालको कमी नगर्न विद्यार्थीलाई अनुरोध गरेका छन् ।
महानगरले यसै शैक्षिक सत्रबाट वीरगञ्जका विद्यालयमा सञ्चालित डिजिटल कक्षाको उपयोगिता र प्रभावकारिताको प्रत्यक्ष अवलोकन गरेका छन् । मेयर सिंहले हप्ताको १ दिन विद्यालयमा नै पुगेर एउटा कक्षा नै लिने कार्यक्रम अघि बढाइने बताए ।
मेयर सिंहले विद्यालयको अनुगमन गर्दै विद्यालयमा भएका स्रोतसाधन र शैक्षिक अवस्थाको विषयमा पनि जानकारी लिएका थिए । महानगरपालिकाले यसै शैक्षिक सत्रबाट विभिन्न ३० वटा विद्यालयमा नेपाली भाषा सिकाइका लागि डिजिटल कक्षा सञ्चालन गर्न सुरु गरेको छ ।
त्रिजुद्ध माविका प्रधानाध्यापक नवीन मिश्रले मेयर आफैं कक्षामा उपस्थिति भएर विद्यार्थीलाई उत्प्रेरणा दिँदा विद्यार्थीहरूमा झनै हौसला बढ्ने बताए । ‘नगर प्रमुख आफैं विद्यालयमा उपस्थित भएर विद्यार्थीसँग अन्तर्क्रिया गर्दा यसले पक्कै पनि विद्यार्थीको शैक्षिक र अन्य विकासमा ठूलो मद्दत पुग्ने आशा गरेका छौं,’ उनले भने ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले विद्यार्थीहरूको हौसला बढाउने खालको कक्षा लिएका थिए ।