काठमाडौं । वीर अस्पतालमा दरबन्दी बेगरका ९१ जना कर्मचारीले रमानाकाे पत्र बुझ्न मानेका छैनन् । उनीहरू संघ, प्रदेश र स्थानीय तहका विभिन्न स्वास्थ्य संस्थामा दरबन्दी भएका कर्मचारी हुन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत वैशाख २७ गते परिपत्र जारी गरी समायोजन, पदस्थापन, कामकाज तथा सरुवा भएका कर्मचारीलाई रमाना दिइ सोको जानकारी ७ दिनभित्र दिन भनेको थियो ।
सोहीअनुसार वीरले कर्मचारीलाई पत्र काटेर रमाना लिन भनेपनि उनीहरूले अटेर गरेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन अगाडि दरबन्दीभन्दा बाहिर रहेका कर्मचारीलाई कर्मचारी समायोजन ऐन २०७५ अनुसार स्थानीय तह, प्रदेश तथा संघका विभिन्न स्वास्थ्य संस्थामा समायोजन, पदस्थापना, सरुवा तथा कामकाज गर्न खटाइएका कर्मचारीलाई तोकिएको स्थानमा खटाउन निर्देशन दिएको थियो ।
मन्त्रालयको निर्देशनपछि वीर अस्पतालले साउन १ गतेको हाजिरसमेत काटेको छ। तर पनि उनीहरू हाल वीर अस्पतालमै कार्यरत रहेकाे पाइएकाे छ ।
उनीहरूमध्ये १२ जना कर्मचारीले मेडिकल बोर्डबाट स्वास्थ्य समस्या रहेको रिपोर्ट बनाएर बसेका छन् । केही कर्मचारी भने अदालतको अन्तरिम आदेश, काेही साेर्सफाेर्सका आधारमा बसेका छन् ।