काठमाडौं । विभिन्न राजनीतिक दलका युवा नेताहरू देशमा राजनीतिक स्थायित्वका लागि शासकीयस्वरूप र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को आयोजनामा काठमाडौंमा जारी विद्यार्थी महोत्सव—२०८१ मा ‘कसरी सम्भव छ राजनीतिक स्थायित्व विषयक’ सामूहिक छलफलमा उनीहरूले त्यस्तो जोड दिएका हुन् ।
छलफलमा नेकपा (एमाले) का सचिव योगेश भट्टराईले मुलुकमा राजनीतिक स्थायित्व भए पनि शासकीय व्यवस्थाका कारण अस्थिरता देखिएको भन्दै त्यसमा परिवर्तन जरूरी रहेको बताए ।
संविधानमा भएको शासकीयस्वरुप र निर्वाचन प्रणालीले मुलुकको शासन व्यवस्थामा स्थायित्व दिन नसक्ने भन्दै जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी प्रमुख राख्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।
“मुलुकमा व्यवस्था परिवर्तन गरेर हामीले राजनीतिक स्थायित्व पाइसकेका छौँ तर शासकीय प्रबन्ध र निर्वाचन प्रणालीका कारण सरकारको स्थायित्व हुनसकेको छैन” उनले भने, “अब सरकार र शासन स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्छ ।” उनले संसदलाई समावेशी बनाउन राष्ट्रियसभालाई पूर्र्ण समानुपातिक वा प्रत्यक्ष निर्वाचनमै समावेशी व्यवस्था गर्ने भन्नेबारे छलफल गर्न सकिने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाली काङग्रेसका नेता प्रदीप पौडेलले यहि व्यवस्थाभित्र शासन व्यवस्थाको स्थायित्व खोज्नुपर्ने बताए । उनले राजनीतिक दलका नेतृत्वका स्वार्थका कारण शासन व्यवस्थामा स्थायित्व हुन नसकेको धारणा राखे । “निर्वाचनमा कुनै पनि राजनीतिक दलले किन बहुमत ल्याउन सकेनौँ भन्ने विषयको खोजी गरौँ । त्यसपछि बाँकी विषयमा छलफल र समाधानको विधिबारे गम्भीर समीक्षा गरेर अगाडि बढ्नुपर्छ”, उनले भने।
कार्यक्रममा नेपाल समाजपाटी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले प्रत्यक्ष निर्वाचित सरकार प्रमुख र पूर्णसमानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरेमात्र मुलुकले स्थायित्व पाउने बताए । “प्रत्यक्ष निर्वाचनमा गयौँ भनेमात्र मुलुकमा शासकीय स्थायित्व ल्याउन सकिन्छ ।
त्यस्तै पूर्णसमानुपातिक निर्वाचन प्रणालीमार्फत सीमान्तकृतलगायत पछाडि परेका वर्ग समुदायको प्रतिनिधित्व संसदमा हुन्छ” उनको भनाइ थियो । यस्तै, संसदलाई सरकारमा सहभागि नगराउने र व्यवस्थापिकालाई विधायिकाको काममा लगाउनुपर्नेमा समेत उनको जोड थियो ।