काठमाडौं । वि.सं २००२ मा बागलुङ नगरपालिका–३ किनाराटोलमा जन्मिएका प्रेम छोटाले जीवनमा एउटै मात्र नाटक खेले । त्यही नाटकले दिएको नामले उनलाई जिवनभर चिनाइरह्यो । उनको खास नाम भने प्रेमप्रसाद श्रेष्ठ हो । नेपाली नाट्य जगतमा भने उनि प्रेम छोटाका नामले चिनिन्छन् ।
वि.सं २०१४ तिर बागलुङका कलाप्रेमी युवाहरुले ‘मनोमानी’ नामको नाटक मञ्चन गरे । त्यस नाटकमा एकै नामका दुई पात्र थिए । एउटा हवल्दारको भूमिका निभाउने प्रेमप्रसाद श्रेष्ठ अर्का बाल कलाकारको भुमिका निभाउने प्रेमप्रसाद श्रेष्ठ । नाम एउटै भएकाले नाटकका निर्देशक ओमकारप्रसाद गौचनले एक जनालाई प्रेम बडा र अर्कालाई प्रेम छोटा नाम दिएको कुरा उनि सम्झिन्छन् । आफ्नो नामबारे दिग्गज साहित्यकारदेखि जनसाधारणसम्मले बेलाबेला चासो राख्ने गरेको उनले सुनाए ।
प्रेम बडा स्वर्गीय भइसके भने बाल चरित्र निभाएका प्रेम छोटा अहिले पनि साहित्य साधना र संस्कृतिको अन्वेषणमा सक्रिय छन् । बाह्र वर्षको उमरेमा नाटक खेलेका उनले विसं २०१६ मा पहिलोपटक प्रेम छोटाकै नाममा ‘असम्भव के ?’ कविता लेखेका थिए । त्यही कविताबाट उनको वाङ्मय यात्रा आरम्भ भएको हो । उनको पहिलो खोजमूलक रचना ‘बागलुङको प्राचीनतम् लोकसंस्कृति हनुमान नाच’ विसं २०३५ मा प्रकाशित भयो । अमेरिकी दूतावासबाट निस्कने ‘स्वतन्त्र विश्व’ नामक पत्रिकामा प्रकाशित उक्त आलेख नै छोटाको शोध यात्राको कोशेढुङ्गा बन्यो । जसबापत पारिश्रमिक रु पाँच सय पाएका थिए ।
तीन सय वर्ष पुरानो ऐतिहासिक हनुमान नाचबारे शोधपछि उनलाई लोक संस्कृतिको अनुसन्धानमा लाग्ने प्रेरणा र ऊर्जा मिल्यो । साहित्यका अनेक विधामा कलम चलाएका छोटाले पछि आएर संस्कृतिको अन्वेषणतिर लागे । संस्कृतिको खोज–अनुसन्धानमा उने पाँच दशक बिताइसके ।
उहाँको पहिलो कृतिका रुपमा विसं २०४२ मा कथासङ्ग्रह ‘प्रकारान्त’ प्रकाशित भएको थियो । उनले लोक संस्कृतिमा मात्रै आधारित १२ वटा कृति लेखेका छन् । ‘बागलुङको सांस्कृतिक आकाशमा नाटकीय इन्द्रेनी–२०७५’ उनले लेखेका ३२ औँ कृति हो । उनका अझै २५ कृति प्रकाशोन्मुख छन् ।
उनको पहिलो अनुसन्धानमूलक कृतिका रुपमा विसं २०४४ मा साझा प्रकाशनबाट ‘धवलागिरिका लोक संस्कृतिहरु’ प्रकाशित भएको थियो । हनुमान नाच, भोटेसेलो, जोगी, लाखे, नाग नाचलगायतका लोक संस्कृतिलाई उनले कृतिमा समेटेका छन् । संस्कृतिको ऐतिहासिक तथ्य, परम्परा, मान्यता, विकास र उत्थानका सन्दर्भ उनको खोजिको विषय हुन् ।
‘भानुभक्तभन्दा पुराना कवि वीरशाली पन्त’, ‘धवलागिरि सांस्कृतिक सम्पदालगायत उनका अनुसन्धानमूलक कृति प्रकाशित छन् । नेपाल प्रज्ञा–प्रतिष्ठान (तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान) बाट विसं २०५३ मा धवलागिरिका कथा प्रकाशित भयो । ‘धवलागिरिका कवि र कविता–२०५५’, ‘भानुभक्तभन्दा पुराना कवि वीरशाली पन्त–२०६२’ जस्ता शोधमा आधारित कृतिहरु प्रकाशित भए । विसं २०६६ मा प्रकाशित ‘बागलुङका ऐतिहासिक घटना’ विसं २०७० मा प्रकाशित ‘धवलागिरिको छ दशकीय पत्रकारिता’ पनि उनको खोजमूलक कृति हो ।
एउटै ऐतिहासिक सन्दर्भ खोज्न र प्रमाणित गर्न महिनौँ लागेको उनको अनुभव छ । सामाजिक घटना, पात्र, पाका व्यक्ति र अन्यत्रको प्रचलनबाट पनि अनुसन्धानमा सिकाइ मिल्ने गरेको छोटाले बताए । “संस्कृति, भाषा, साहित्य, पत्रकारितालगायत समाजका विविध पक्षको ऐतिहासिक मूल्य खोज्नु मेरो शोधको उद्देश्य हो”, उनले भने, ‘धवलागिरिको छ दशकीय पत्रकारितामा उनले धवलागिरि क्षेत्रबाट विसं २०७० सम्म प्रकाशित अखबारको पहिलो अङ्क संग्रहित गरेका छन् ।
विसं २०७५ मा प्रकाशित ‘बागलुङको सांस्कृतिक आकाशमा नाटकीय इन्द्रनी’ उनको पछिल्लो कृति हो । बागलुङको नाटक परम्परासँगै उक्त कृतिमा चैते दसैँ, घण्टाकर्ण पर्वलगायत केही सांस्कृतिक महत्वका पर्व र स्थलबारे उक्त कृति केन्द्रित छ । इतिहासको दस्तावेज राख्न र नयाँ पुस्तालाई संस्कृतिबारे सुसूचित गर्न उनका अनुसन्धानमूलक कृतिले सघाउँछन् । उनका कृतिबाट साङ्गोपाङ्गो रुपमा धवलागिरि क्षेत्रको कला, संस्कृति र वाङ्मय बुझ्न सकिन्छ ।
लोक संस्कृतिले कुनै विचारधारा र वाद प्रभावित नहुँने हुँदा आफ्नो रोजाइमा परेको उनि बताउछन् । संस्कृतिलाई व्यापक रुपमा हेर्नुपर्ने धारणा राख्ने उनि लोकसंस्कृतिलाई कुनैपनि देशको आत्मा र स्पन्दनका रुपमा बुझ्नुपर्ने बताउँछन् । विसं २०३४ मा उनले स्थापना गरेका ‘रत्न–श्रेष्ठ पुरस्कार गुठी’ राजधानी बाहिरको सबैभन्दा पुरानो पुरस्कार संस्था मानिन्छ ।
विसं २०२४ देखि २०४१ सम्म विद्यामन्दिर माध्यमिक विद्यालयको लेखापालका रुपमा सेवा गरेका छोटा त्यसयता भने पूर्णकालीन साहित्य सेवामा छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व प्रज्ञासभा सदस्यसमेत रहेका छोटा डा डिल्लीरमण कल्याणी रेग्मी स्मृति पुस्तकालय विकास समिति काठमाडौँ र धवलागिरि वाङ्मय प्रतिष्ठान काठमाडौँको अध्यक्षसमेत भइ सकका छन् ।
विभिन्न साहित्यिक तथा प्राज्ञिक संघसंस्थामा क्रियाशील छोटाले ६० भन्दा बढी पदक, सम्मान र पुरस्कार पाइसकेका छन् । विसं २०५३ मा राष्ट्रिय प्रतिभा पुरस्कार, २०५६ मा गोपाल पाँडे असीम पुरस्कार, २०६८ मा शिरोमणि पुरस्कार, २०६९ मा त्रिमूर्ति पुरस्कारलगायत दर्जनौँ पुरस्कार प्राप्त गरेका छन् । लोककवि अलिमियाँ वाङ्मय सम्मान, भूपि स्मृति सम्मान, राष्ट्रिय नागरिक स्वर्ण सम्मान तथा नागरिक अभिनन्दन, भानुभक्त स्वर्ण सम्मान लगायतबाट समेत सम्मानित भएका छन् ।
छोटा संस्थापक संरक्षक रहेका रत्न-श्रेष्ठ पुरस्कार गुठीले हरेक दुई वर्षमा राष्ट्रिय, क्षेत्रीय र आञ्चलिक स्तरमा पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ । पढाइमा स्नातक छोटासँग केही वर्ष शिक्षक र कर्मचारी भएर काम गरेको अनुभव भए पनि अधिकांश जीवनकाल साहित्य, कला र संस्कृतिको सेवामा बितेको छ । ढल्कीदो उमेरसँगै छोटाको लेखनको गति केही घटेको होला तर साधना र समर्पण भने उस्तै छ ।
दिवङ्गत दीपबहादुर र रत्नकुमारी श्रेष्ठको कोखबाट जन्मिएका छोटा अहिले बागलुङ नगरपालिका–३ किनारा टोलमा परिवारसँग बस्दै आएका छन् । उनको सिर्जनाकर्ममा अर्धाङ्गिनी इन्द्र श्रेष्ठ, छोराछोरी, बुहारीलगायत स्वजनको दरिलो साथ र स्नेह छ । साहित्य र संस्कृतिको उत्थानमा उनले पुर्याएको योगदानलाई समेटेर ‘प्रेम छोटाका ७० वसन्त’ र ‘प्रेम छोटाका बहुआयाम’ ग्रन्थ प्रकाशित छन् । आजीवन नेपाली भाषा, साहित्य र संस्कृतिको अन्वेषणमा दत्तचित्त छोटा नेपाली वाङ्मयका अग्ला व्यक्तित्व हुन भन्दा कुनै अतियुक्ति हुँदैन ।