काठमाडौँ । ‘लु’ (तातो हावाको लहर) बाट बच्नका लागि व्यापक जनचेतना तथा प्रचारप्रसार गर्न आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज आयोजना गरेको ‘लु’को प्रभाव र पूर्वतयारीसम्बन्धी संवाद कार्यक्रममा ‘लु’बाट बच्न व्यापक जनचेतना जरुरी रहेको बताएका हुन् ।
प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले आपत्कालीन अवस्थासम्बन्धी कार्ययोजना बनाउन सबै सरोकारवालालाई आग्रह गरे । सबैको सहकार्यमा लु व्यवस्थापन तथा न्यूनीकरणको कार्ययोजना तर्जुमा गर्नसकेमा उपयुक्त हुन पोखरलले बताए । लु सम्बन्धी जनचेतना एकदमै जरुरी भएको र जनचेतनाको ठूलो महत्व रहेको उनले बताए ।
ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले प्रत्येक जिल्लामा जनचेतना बढाउनका लागि निर्देशन र गर्मीबाट बच्न जीवनजल वितरणका कार्यक्रम अगाडि बढाउनुपर्ने सुझाव दिए ।
प्राधिकरणका वरिष्ठ मौसमविद् राजेन्द्र शर्माले ‘लु’बाट बच्नका लागि जनचेताना जगाउन र नीति तर्जुमा गर्नुपर्ने सुझाव दिए । जल तथा मौसम विज्ञान विभागले यस वर्ष तापक्रम बढ्ने प्रक्षेपण गरिरहेको उल्लेख गर्दै तापक्रमबाट मानिसको जनजीवनबाट प्रभावित हुनसक्ने उनको भनाइ थियो ।
विभागका वरिष्ठ मौसमविद् शान्ति कँडेलले पनि जलवायु परिवर्तनको असरका कारण विश्वमा तापमान बढ्दै गइरहेको भन्दै समयमा नै न्यूनीकरणका उपाय अवलम्बन गर्न नसकेमा तातो हावाको असर अझै बढ्नसक्ने बताए ।
त्यसैगरी जनस्वास्थ्यविद् डा. समीर अधिकारीले तातो हावाका कारण मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पुग्नसक्ने भन्दै ‘लु’ बाट बच्ने उपाय अवलम्बन गर्न जरुरी रहेको जानकारी दिए । लुका कारण श्वास फेर्न गाह्रो हुने, रगतजन्य समस्या आउने र शरीरमा घाउ हुनसक्ने उनले बताए त्यस्तै लु का कारण ब्लडप्रेसरको समस्या बढ्नसक्ने, आँखाको समस्या हुन सक्ने र कालान्तरमा मानिसको मृत्यु हुनसक्ने डा. अधिकारीले बताए । लुबाट कसरी सुरक्षित गर्ने ? कसरी पूर्वतयारीका कार्यक्रम सञ्चालन गर्ने ? भन्ने विषयमा कार्यक्रम तय गर्न आवश्यक रहेको डा. अधिकारीले सुझाव दिए ।