वीरगञ्ज । पर्सा जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ ।
स्वास्थ्य कार्यालय पर्साले राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रमा पाउनुपर्ने सबै खोपहरू सबै बालबालिकाहरूले पूर्ण रूपमा लिएको सुनिश्चितता गरेसँगै घोषणा गरिएको हो ।
मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव प्रमोदकुमार यादवले बिहीबार वीरगञ्ज आयोजित कार्यक्रममा पर्सा जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेका थिए ।
उनले पूर्ण खोपयुक्त जिल्लाको प्रमाणपत्र पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, जिल्ला खोप समन्वय समितिका अध्यक्ष नीरञ्जनप्रसाद सोनार र स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्तिनारायण साहलाई संयुक्त रुपमा प्रदान गरेका थिए ।
पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने अभियान २०७४ सालमै सुरु भए पनि विविध कारणले ढिलो भएको थियोे । स्वास्थ्य कार्यालय पर्साका प्रमुख साहले राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेरभित्रमा पाउनुपर्ने सबै खोपहरू सबै बालबालिकाले पूर्ण रूपमा लिएसँगै पूर्ण खोप जिल्ला घोषणा गर्न सफल भएको बताए ।
‘पर्सा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्न निकै कसरत गर्नुपर्यो । सबैको साथ सहयोगको कारणले मात्रै यो घोषणा गर्न सकिएको हो,’ उनले भने, ‘मधेश प्रदेशमा पूर्ण खोप जिल्ला घोषणा गर्न ४ जिल्ला मात्रै थियो । आज हामीले पूर्ण खोप जिल्ला घोषणा गरेर नयाँ यात्राको सुरुवात गरेका छौं ।’
पर्साको पोखरिया नगरपालिकालाई २०७४ वैशाख २७ गते पूर्ण खोप नगरपालिका घोषणा गरिएको थियो । तर पकहामैन्पुर गाउँपालिका, विन्ध्वासिनी गाउँपालिका, धोबिनी गाउँपालिका र कालिकामाई गाउँपालिकालाई भने माघको अन्तिम सातामात्रै पूर्ण खोप गाउँपालिका घोषणा गरिएको थियो ।