रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ सवारी साधनको सङ्ख्या बढ्न थालेको छ ।
ठूलो सङ्ख्यामा विद्युतीय कार र केही ठूला तथा मझौला सवारी साधन आयात हुने गरेको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म चार हजार सात सय छ सवारी साधन आयात भएका छन् । तीमध्ये चार हजार छ सय ७९ विद्युतीय कार रहेका रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।
वि.सं २०७२ को मङ्सिरपछि रसुवागढी नाकाबाट पाँच हजार आठ सय ५० सवारी साधन भन्सार प्रक्रिया पूरा गरी आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेका कार्यालयका सूचना प्रविधि अधिकृत निर्मल कँडेलले जानकारी दिए । उनका अनुसार भन्सार क्षेत्रभित्र प्रवेश गरी काठमाडौँतर्फ प्रस्थान गर्नका लागि दर्जनौँ सवारी साधनले प्रक्रिया गरिरहेका छन् ।
विद्युतीय कारको खरिद मूल्य भने चिनियाँ उत्पादक कम्पनीमा रु २८ लाख ५१ हजार र भन्सार शुल्क रु ११ लाख ९८ हजार पर्ने बताइएको छ । भन्सार कार्यालयले चालु आवमा नियमानुसारको दररेटबाट मनग्य कर असुली गरेको जनाएको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आवको नौ महिनामा रु १५ अर्ब ७७ करोड राजस्व असुली भएको हो । तुलनात्मक हिसाबले एक सय ६६ प्रतिशत राजस्व वृद्वि भएको उनले जानकारी दिए ।
गत वर्षको यस अवधिमा रु पाँच अर्ब ९४ करोड मात्र असुली भएको थियो । ठूलो सङ्ख्यामा चीनबाट सवारी साधन आयात भएकाले चालु आवमा करबापतको राजस्व बढेको भन्सारका कर्मचारी बताउँछन् । चालु आवको नौ महिनामा रु ४८ अर्ब ५९ करोड बराबरको सामग्री आयात भएको थियो । आयातित सामग्रीहरूमा साना–ठूला सवारी साधन, इलेक्ट्री सामान, जुत्ता, चप्पल, स्याउ, ओखरलगायत दैनिक उपभोग्य सामग्री रहेका भन्सार अधिकृत पाठकले जानकारी दिए । गत वर्षको तुलनामा ८९ प्रतिशतले आयात बढेको भन्सार तथ्याङ्कले देखाएको छ ।
चीन सरकारको सहयोगमा निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाहको काम तीव्र गतिमा भइरहेको छ । चिनियाँ प्रविधिकले हालसम्म ५५ प्रतिशत समग्रको प्रगति भएको जनाएका छन् ।