काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय पाएका पूर्व सांसद रेशम चौधरीलाई माफी दिने प्रस्ताव राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा फिर्ता पठाइदिएको छ ।
राष्ट्रपति कार्यालयले रेशम चौधरीबारे गृहमा पठाएको निवेदनमा दुई मुख्य समेटिएको छ । प्रचलित कानुन, यस सम्बन्धमा अदालतबाट भएको फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानुन बमोजिम हुने गरी गर्न भनेर गृहमा फिर्ता पठाइएको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
उनका अनुसार पीडितको तर्फबाट परेको निवेदन पनि आवश्यक कार्यार्थका लागि गृहमा फिर्ता गरिएको हो । २०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा आठ जना प्रहरी र एक जना दूधे बालकको ज्यान गएको थियो ।
उक्त घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी मारिएका थिए ।
सो घटनामा रेशम चौधरी दोषी रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले उनलाई जन्मकैदको सजाय सुनाएका थिए । गत जेठ २ गते सर्वोच्च अदालतले उच्च अदालतको फैसला सदर गरिदिएको थियो ।
चौधरी निर्दोष रहेको र उनलाई रिहा गर्नुपर्नेलगायत मुद्दा लिएर गठन भएको नागरिक उन्मुक्ति पार्टीले संसद्मा ४ सिट जितेको छ । चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ उक्त पार्टीकी अध्यक्ष छिन् । उनी अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री समेत छन् ।