काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताएका छन् ।
‘सक्षम कानुन व्यवसायी, मर्यादित बार: न्यायपालिकाको पुनःसंरचना लोकतन्त्र सुदृढीकरणको आधार’ नाराका साथ नेपाल बार एशोसिएसनले आज सुरु भएको १६औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले देशमा सुशासन कायम हुनुपर्नेमा जोड दिए ।
लोकतान्त्रिक शासन प्रणालीमा विधि नै सबै किसिमको अराजकता तथा अन्याय निवारणको उपाय र उपचार भएको कुरा बताए । विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने हो भन्ने कुरा पनि हामीले विर्सन नहुने कुरा बताए । न्याय, न्याय भनेर मात्र पनि नपुग्ने र यो देखिनु, सुनिनु, बुझिनु र महसुस गरिनु पनि पर्ने कुरा उनले बताए ।
संवैधानिक व्यवस्थाले विधिको शासन, लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथकीकरण, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्य तथा मौलिक अधिकारप्रति विशेष चनाखो र सचेत हुन निर्देश गर्ने उल्लेख गरे ।
राष्ट्रपति पौडेलले न्यायको स्वच्छतामा न्यायाधीश र कानुन व्यवसायीको आ–आफ्नै भुमिका हुनेहुँदा बार र बेञ्चबीचमा बेलाबेलामा छलफल तथा अन्तरक्रिया हुनेगरेमा सही प्रतिफल प्राप्त हुन सक्ने विश्वास व्यक्त गरे । लोकतान्त्रिक प्रणालीभित्र नै न्यायपालिका सक्षम हुने राष्ट्रपति पौडेलको भनाइ थियो ।
जेठ ६ गतेसम्म चल्ने सम्मेलनमा देशभरबाट करिब सात हजार कानुन व्यवसायीहरु सहभागी छन् । उद्घाटन समारोहमा वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता सर्वज्ञरत्न तुलाधरलाई अभिनन्दन गरिएको थियो । राष्ट्रपति पौडेलले अभिनन्दनपत्र र दोसल्ला ओढाएर उनलाई सम्मान गरेका हुन् । वरिष्ठ अधिवक्ता तुलाधर बारको पूर्वअध्यक्ष समेत हुन् ।