काठमाडौं । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकासमा रूसको ठूलो सहयोग रहेको बताएका छन् ।
पूर्वसोभियत सङ्घ र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डलमा अध्ययन गरेका नेपालीको अल्मुनाई एसोसिएसन मित्रकुञ्जको ५७औँ वार्षिकोत्सव तथा एसियाली राष्ट्रहरुको छैटौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले नेपालको आर्थिक विकासमा रूसको सधैँ साथ र सहयोग रहँदै आएको बताए । नेपालको आर्थिक विकास, शिक्षा, विज्ञान, प्रविधि र पूर्वाधारका क्षेत्रमा रूसको महत्वपूर्ण साथ र सहयोग रहँदै आएको बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र रूसबीच पुरानो सम्बन्ध रहेकाले यसलाई अझ घनिष्ठ बनाउनका लागि यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । परराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले रूस र युक्रेनबीचको युद्धलाई वार्ता र संवादद्वारा समाधान गर्नुपर्ने धारणा राखे । उनले रूसी मुलुकमा सिकेको सीपलाई नेपालको विकासमा लगाउन सबैलाई आग्रह समेत गरे ।
नेपालका लागि रुसी महासङ्घका राजदूत अलेक्सेई निविकोभले रूस र नेपालबीचको सम्बन्धलाई मजबुद बनाउनका लागि यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । मित्रकुञ्जका संस्थापक अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता नीलाम्बर आचार्यले अल्मुनाईले दुई देशबीचको सांस्कृतिक आदानप्रदानका साथै दुई देशबीचको सम्बन्धलाई पुलको काम गरेको बताए ।
नेपालबाट पूर्वसोभियत सङ्घअन्तर्गतका विभिन्न देशमा गएर अध्ययन गरेका विद्यार्थीहरुको साझा संस्थाका रुपमा सन् १९६७ देखि मित्रकुञ्जलाई अगाडि बढाउँदै आइएको मित्रकुञ्जका अध्यक्ष महेशप्रसाद पाण्डेले जानकारी दिए । तीन दिनसम्म चल्ने सम्मेलनमा रुसबाट नौ, पाकिस्तानबाट एक, मङ्गोलियाबाट चार, भारतबाट एक, चीनबाट सात, बङ्गलादेशबाट ३२, नेपालबाट एक सय ५०, भेनिनबाट एकजना प्रतिनिधिको सहभागिता रहेको छ ।