बागलुङ । सुनसान गाउँ, वरपर केही घर, चारैतिर बढ्दै गरेको झाडी । त्यही झाडी छेउमा दुई जीर्ण भवन छन् । खिया लागेका जस्ताले छाएको छानो । मक्किएका झ्याल ढोका । लेखिएको भित्ते लेखन र झ्यालमा अड्याएर राखिएको झन्डामा यहाँ पुग्ने हरेकको नजर ठक्क रोकिन्छ । भित्तामा राष्ट्रिय गान, राष्ट्रिय जनावर गाई, झन्डालगायत चित्र कोरिएको छ । यो जैमिनी नगरपालिका–४ सकुर्वा मौलाछमा रहेको सर्वोदय प्राथमिक विद्यालय हो । विसं २०१२ मा स्थापना भएको यस विद्यालयमा अघिल्लो वर्षसम्म आठ विद्यार्थी थिए । अहिले एकजना पनि विद्यार्थी छैनन् ।
विद्यालयमा विद्यार्थी नभए पनि चार शिक्षक दैनिक आउँछन् । दुई स्थायी र बाल विकास सहजकर्तासहित दुई अस्थायी शिक्षक यस विद्यालयमा कार्यरत छन् । विद्यार्थी नभएपछि शिक्षकलाई दिन कटाउनै मुस्किल हुन्छ । गाउँ बसाइँसराइले रित्तिँदै गएपछि विद्यार्थीको सङ्ख्या शून्य भएको हो । केही वर्षअगाडिसम्म यस गाउँमा ८८ घर थिए । हाल ३३ घर मात्रै छन् । ती घरमा पनि बूढापाका मात्रै छन् । सेवा, सुविधा र विलासिताको खोजीमा सहर बजार भार्नेको लर्को लागेपछि विद्यालय बन्द हुनाका साथै गाउँ नै सुनसान बनेको छ । विद्यालयमा चिटिक्क परेका कक्षाकोठा छन् । शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन बनाइएको सामग्रीले विद्यार्थी पर्खिरहेका छन् ।
विद्यालयमा विद्यार्थीको चहलपहल हुनुपर्ने हो । दैनिक पठनपाठन हुनुपर्ने हो । विद्यार्थी नभए पनि विद्यालय सुनसान बनेको छ । डेस्क बेञ्चदेखि सबै किसिमका सुविधा छन् । विद्यार्थीविहीन विद्यालयमा शिक्षकले भने नियमित तलब खाइरहेका छन् । बागलुङका विभिन्न स्थानीय तहले विद्यार्थी कम भएका विद्यालयलाई समायोजन, तह मिलान तथा स्थगन गरिरहेका छन् भने जैमिनी नगरपालिकाले अहिलेसम्म गरेको छैन ।
यस विद्यालयका प्रधानाध्यापक लेखनाथ शर्माले विद्यार्थी नहुँदा दिन बिताउनै गाह्रो हुने गरेको बताए । गाउँमा वृद्धवृद्धाबाहेक अरू नभएको हुँदा विद्यालय रित्तिएको उनको भनाइ छ । अझै आफूहरुले शिक्षाको गुणस्तर बढाएर छिमेकी गाउँबाट र बोर्डिङ पढ्ने विद्यार्थीलाई ल्याउन सकिन्छ कि भनेर प्रयास गरेको प्रधानाध्यापक शर्मा बताउछन् ।
विद्यालय नजिकैकी स्थानीय हिरा पौडेलले दशक अगाडिसम्म यस विद्यालयमा विद्यार्थीको चापले गर्दा डेस्क, बेञ्च नपुगेर भुइँमै बसेर पढ्ने गरेको बताए । अहिले विद्यालयमा धेरै सेवासुविधा हुँदा पनि पढ्ने बालबालिका कोही नभएको उनको भनाइ छ । विद्यालय स्थापित गर्नका लागि गाउँलेले ठूलो योगदान पु¥याएको भन्दै अहिले विद्यार्थी नभएर रित्तो हुँदा दुःख लागेको पौडेलले बताए ।
यहाँका अधिकांश चितवन, गैँडाकोटा, नवलपरासीलगायत ठाउँमा बसाइँसराइ गरेर गएपछि अचेल गाउँमा बालबालिका भेट्टाउनै मुस्किल पर्छ । जैमिनीका शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्यले विद्यार्थी कम भएका विद्यालयलाई समायोजन, तह मिलान र स्थगन गर्नका लागि सूचना जारी गरेको र वडा शिक्षा समितिले अध्ययन गरिरहेको बताए ।