वीरगञ्ज । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गतेभित्रै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद् अवरुद्ध गर्न नहुने बताएका छन् ।
नेकपा एमाले पर्साको नवौं जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमिति र लेखा समितिका पदाधिकारी एवं सदस्यहरूको शपथग्रहण कार्यक्रमलाई शुक्रबार वीरगञ्जमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्ने बताए ।
‘जेठ १५ गतेभित्र अहिले बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद्सँग थोरै समय छ । त्यसअघि नीति तथा कार्यक्रम पारित गर्नुपर्नेछ । त्यसकारण संसद् चलाउनैपर्छ,’ उनले भने, ‘देशै ठप्प पार्ने काम स्वीकार्य हुँदैन । कांग्रेसले जे–जे भन्छ, त्यही मान्न सकिँदैन ।’
कुनै पनि व्यक्तिलाई आरोप लगाइसकेपछि संसद्मा बोल्न दिनुपर्नेमा उनले जोड दिए । ‘कांग्रेसले १ जना मान्छेलाई आरोप लगाउँछ । ममाथि लगाएको आरोपका बारेमा संसद्मा बोल्छुभन्दा पनि बोल्न दिँदैन । बोल्न पाइँदैन, आयोग बनाउनुपर्छ भन्छ । आरोप लगाएपछि बोल्न त पाउनुपर्यो नि !’ अध्यक्ष ओलीले भने । उनले अब कांग्रेस पनि संसद् चलाउन तयार हुनुपर्नेे बताए ।
उनले संसद् विघटन गर्ने ठाउँमा पुर्याउन खोज्दैछन् भनेर आफूविरुद्ध कांग्रेस हाउगुजी फैलाउने काम गरिरहेकोप्रति कटाक्ष गरे । ‘कांग्रेसले संसद् विघटनको हाउगुजी फैलाउने खालको झूट बोलेको छ । बेइमानी कुरा गरेको छ,’ उनले भने, ‘त्यस्ता कुरा पत्याएर हिँड्ने होइन ।’