धनगढी । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन (विधेयक अधिवेशन) कुनै पनि विधेयक पारित नगरी शुक्रबार राति १२ बजेदेखि अन्त्य गरिएको छ ।
गत माघ ५ गते प्रारम्भ भएको अधिवेशनको अवधिमा प्रदेशसभा सचिवालयमा दर्ता भएका ४ वटा विधेयकमध्ये कुनै पनि विधेयक पारित हुन नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सचिवालयका सूचना अधिकारी युवराज जैशीले सरकार गठन र विघटन लिनेबाहेक अन्य काम नभएको बताए । ‘यो अधिवेशनमा मुख्यमन्त्रीलाई विश्वासको मत दिने, विश्वासको मत फिर्ता लिनेजस्ता कामबाहेक विधेयक पारित गर्नेमा कुनै पनि काम हुन सकेन,’ उनले भने ।
यसअघि बिहीबार बसेको प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका केही सांसदको वेल घेराउ र नाराबाजीका बाबजुद मुख्यमन्त्री दीर्घबहादुर सोडारीको विश्वासको मत लिने सम्बन्धी कारबाही अघि बढाइएको थियो ।
नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री सोडारीले विश्वासको मत पाएका थिए ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामीले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावमा जबरजस्ती कारबाही अघि बढाइएको भन्दै सभामुखको निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए । उनले भने, ‘छलफल र संवादबाट समस्या समाधान खोज्ने सम्भावना रहे पनि अचानक संसद् अधिवेशन अन्त्य गरिएको घटनामा हाम्रो विरोध छ ।’
यसैबीच प्रतिपक्षी दल नेपाली कांग्रेसले संवाद र छलफलका माध्यमबाट समस्याको समाधान खोज्न चाहे पनि सरकारले अचानक चालू अधिवेशन अन्त्य गरेकाले यस कार्यले सार्वभौमसत्ता सम्पन्न संसद्को मर्यादा कुण्ठित भएको जनाएको छ । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी अधिवेशन अन्त्य गर्ने निर्णयको विरोध गरे ।
प्रदेश सभाको बैठक सञ्चालनमा दलहरूबीच सहमति जुट्न नसक्दा यसअघि शुक्रबार अपराह्न बोलाइएको बैठक स्थगित गरिएको थियो । लगत्तै प्रदेश प्रमुखको कार्यालयबाट चालू अधिवेशन पनि अन्त्य गरिएको छ ।