घोराही । कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा छन् । ४४ वर्षीय मगर विगत १२ वर्षदेखि घोराही उपमहानगरपालिका–१७ गैरागाउँमा व्यवसायमा रमाउँदै आएका छन् ।
मगर कपिलवस्तुबाट दाङसम्म झरेको २५ वर्ष भएको छ । आफूमा भएको सीपलाई आयआर्जनसँग जोड्न पाउँदा उनी खुशी व्यक्त गर्छन् ।
वित्तीय संस्थाबाट ३ लाख कर्जा लिएर सुरु गरेको सिर्जनशील मूर्ति उद्योगले अहिले मगर परिवारलाई आत्मनिर्भरसमेत बनाएको छ । उनले आफ्नो जीवन चित्रकला र मूर्तिकलामै समर्पित गर्न र यसैलाई जीविकोपार्जनको माध्यम बनाउन चाहेको बताउँछन् । हालसम्मको अनुभवबाट आफ्नो कला जीविकोपार्जनको भरपर्दो माध्यम हुन्छ भन्ने विश्वास भएको उनको भनाइ रहेको छ ।
‘जिल्लामा संग्रहालय र पार्कहरू बन्ने क्रम बढेको छ । ठूला होटल र पार्टी प्यालेसले पनि विशेष कलाको खोजी गर्न थालेका छन्,’ उनले भने । आकर्षक भौतिक पूर्वाधार बढ्दै जाँदा कलाको बजार पनि फराकिलो हुँदै गएको छ । आफूले अहिले मागअनुसारको उत्पादन गर्दै आएको उनले बताए ।
यही व्यवसायबाट पल्टुरामको परिवारले वार्षिक १२/१३ लाखको कारोबार गर्दै आएको छ । जसबाट छोरी, छोरीको पढाइ खर्च र घरायसी कामकाजमा खर्च हुने हुँदा बचत त्यति धेरै नहुने उनी बताउँछन् । विभिन्न खालका मूर्तिहरू निर्माणका लागि कच्चा पदार्थ बुटवलबाट ल्याउने गरेका छन् ।
पछिल्लो समय यसको माग बढ्दै जाँदा व्यवसाय राम्रो हुँदै गएको उनको अनुभव रहेको छ । यहाँ उत्पादित मूर्तिहरू दाङ जिल्लासहित रोल्पा, सल्यान, प्युठान, रुकुम लगायत अन्य जिल्लामा समेत जाने गरेको छ ।
मूर्तिकला व्यवसायमा महिलाको सहभागिता कमै देखिन्छ । तर पल्टुरामका श्रीमती जानकी मगर पनि लामो समयदेखि मूर्तिकला व्यवसायमै व्यस्त छिन् । उनीसँगै श्रीमान् र छोराछोरी सबै सालिक तथा मूर्ति निर्माण गरिरहेका छन् । सन्तानले बुबाआमाको सिको पनि गरिरहेका छन् । आफ्नो रुचि र स्वध्ययनले छोराछोरीहरू पनि मूर्तिकलामा लागेपछि मगर दम्पती खुशी छन् ।