हेटौंडा । बागमती प्रदेश सभाअन्तर्गत विषयगत समितिका सभापतिको चयन आज गरिँदैछ ।
शनिबार बस्ने प्रदेशसभा बैठकमा सभापतिको नाम निर्णायार्थ प्रस्तुत गरिने भएको छ ।
विषयगत समितिको सभापति चयन गर्न सभामुख भूवनकुमार पाठकले शनिबार बिहान ११ बजे प्रदेश सभाको बैठक आह्वान गरेका छन् ।
सभापति पदका लागि मनोनयन दर्ता सकिएको र आजको बैठकमा ती नाम निर्णायार्थ प्रस्तुत गरिने प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए ।
प्रदेश सभाका ५ वटा विषयगत समितिमध्ये ४ समितिका सभापतिका लागि शुक्रबार मनोनयन दर्ता भएको छ । सार्वजनिक लेखा समिति र प्रदेश मामिला समितिको सभापति पदमा नेपाली कांग्रेसको तर्फबाट क्रमशः श्रीराम लामिछाने र छिरिङ दोर्जे लामाले मनोनयन दर्ता गराएका छन् ।
कृषि, शिक्षा, स्वास्थ्य समितिको सभापतिका लागि नेकपा माओवादी केन्द्रका तर्फबाट ठाकुरप्रसाद ढकाल र अर्थ तथा विकास समितिको सभापतिका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नुरज बज्राचार्यले मनोनयन दर्ता गराएका प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभा अन्तर्गतको उद्योग, पर्यटन तथा वातावरण समितिको सभापति पदमा भने कुनै उम्मेदवारी नपरेको प्रदेशसभा सचिवालयले जनाएको छ । समितिको सभापति नेकपा एमालेलाई दिने दलहरूबीच सहमति भएको बताइएको छ ।
शनिबारको प्रदेशसभा बैठकबाट प्रदेशसभा अन्तर्गतको विशेष समिति गठन गर्ने सहमति भएको सचिव दर्जीले बताए ।