तनहुँ । विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वीखण्डको म्याद ५ महिना थप गरिएको छ ।
निर्धारित समयमा काम सम्पन्न नभएपछि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीलाई काम गर्ने समय थप गरिएको हो ।
कोभिड–१९ को संक्रमणले मजदुर परिचालनमा समस्या भएको, रुख कटान र विद्युत् पोल सार्ने आदेश ढिलो भएको लगायतका कारणले सडक विस्तार समयमा नै सम्पन्न गर्न नसकिएको मुग्लिन सडक पूर्वीखण्डका प्रमुख इन्जिनीयर श्यामकुमार यादवले जानकारी दिए । म्याद सकिए पनि निर्माण कम्पनीले सडक विस्तार कार्य नरोकेपछि गत वैशाखदेखि लागू हुने गरी म्याद थप गरिएको उनले बताए । थप गरिएको समयावधि २०८१ भदौ मसान्तमा सकिने छ ।
‘सम्झौता सकिए पनि सडक विस्तार कार्य गरिरहेको पायौं,’ प्रमुख इन्जिनीयर यादवले भने, ‘त्यसैले ५ महिनाको समय थप गरेका हौं ।’ जामुनेदेखि आँबुखैरेनीसम्मको करीब ४२ किलोमिटरको पूर्वी खण्ड विस्तार गर्न विभिन्न स्थानमा करीब ७०० मजदुर खटाएर विस्तार कार्य तीव्र पारिएको निर्माणमा संलग्न कम्पनीले जनाएको छ ।
पूर्वी खण्डमा हालसम्म ५९ प्रतिशत कार्य प्रगति भएको आयोजनाले जनाएको छ ।
विक्रम संवत् २०७७ माघमा सम्झौता गरेर ठेकेदार कम्पनीले २०७८ वैशाखदेखि काम थालेको थियो । सो खण्ड विस्तार गर्न निर्माण कम्पनीले मादि नदीको पुलबाहेक ६ अर्ब २१ करोड रुपैयाँमा ठेक्का पाएको हो । मादी नदीमा ३१५ मिटर लम्बाइको पुल निर्माण गर्न १ अर्ब २१ करोड लागतमा छुट्टै ठेक्का लगाइएको छ । यस खण्डमा भत्काउनुपर्ने ५०५ घरमध्ये अधिकांश भत्काइसकिएको आयोजनाले जनाएको छ ।
पश्चिम खण्डअन्तर्गत पोखरा र दुलेगौंडासहित मुख्य बजार क्षेत्रमा करीब २० किलोमिटर खण्डमा ६ लेन रहने गरी ४६ मिटर फराकिलो, जामुनेदेखि कुम्ले खोलासम्म १८ मिटर र बाँकी सडकखण्ड २३ मिटर फराकिलो कायम रहने गरी कालोपत्र गरिने पश्चिम खण्डका आयोजना प्रमुख राजेश पौडेलले जानकारी दिए । ७ अर्ब ४० करोड ४६ लाखको लागतमा निर्माण गर्न २०७८ जेठमा पश्चिम खण्डको ठेक्का सम्झौता चिनियाँ ठेकेदार कम्पनी एनहुइ केयुनन हाइवे एण्ड ब्रिजसँग भएको छ ।
एसियाली विकास बैंक (एडीबी) को सहुलियत ब्याज ऋण सहयोगमा मुग्लिन पोखरा सडक विस्तार गरिएको हो । अधिकांश क्षेत्रमा सडक दुईतर्फी २५ मिटरको हुनेछ । बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ भने तनहुँको दमौली र डुम्रे बजार क्षेत्रमा ४१ मिटर फराकिलो हुनेछ । अति जनघनत्व रहेका क्षेत्र दुलेगौंडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौंडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ ।