गोरखा । राष्ट्रिय गौरवको आयोजना बूढीगण्डकी जलविद्युत निर्माणको लागि कम्पनी स्थापना भएपछि आयोजना नै अलपत्र भएको भन्दै स्थानीय चिन्तित बनेका छन् । आफ्नो जग्गाजमिन घर गोठ सबै कागजपत्र सरकारलाई बुझाइसक्दा पनि आयोजना निर्माण अनिश्चित बन्दब आयोजना प्रभावित तथा सरोकारवाला चिन्तित बनेका छन् ।
३ साउन २०८०मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डल कार्यालय उद्घाटन गरेपछि झन् कुनै कामै नभएको डुवान क्षेत्रका बासिन्दाले आज पत्रकार सम्मेलन गरी बताएका छन् ।सरकारले चालु आर्थिक बर्षमा आयोजना मुआब्जा, पुनर्वास तथा पुनस्र्थापना इकाइ खारेज गरेर बुढीगण्डकी जलविद्युत कम्पनी स्थापना गरेपछि आयोजनाको काम ठप्प भएको दुईवटा सरोकार समितिले निकालेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।
हालसम्म कम्पनीमा कर्मचारी नै नियुक्त भएका छैनन् भने मन्त्रिपरिषदले नियुक्त गरेका प्रमुख कार्यकारी अधिकृत काठमाडौं बस्दै आएकाले फिल्ड कार्यालयबाट कुनै पनि काम भएको छैन । सरकारले चालु आर्थिक वर्षमा बूढीगण्डकी आयोजनाका लागि एक अर्ब रुपैयाँ विनियोजन गरेको थियो, हालसम्म उक्त पैसा खर्च हुन सकेको छैन ।
‘प्रचण्ड प्रधानमन्त्री भएका बेला बूढीगण्डकी आयोजना बन्छ भन्ने धेरै गोरखालीको आशा थियो, तर यो एक वर्षमा आयोजनाप्रति सरकारी रवैयाले गोरखालीको आशामा तुषारपात भएको छ’, बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समिति र बूढीगण्डकी सरोकार समिति आरुघाट, विशालनगरले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।
बूढीगण्डकी जलविद्युत कम्पनी स्थापनाअघि वातावरण, मुआब्जा, पुनर्बास तथा पुनस्र्थापना इकाइले बूढीगण्डकी डुवान क्षेत्रका व्यक्तिगत जग्गा, घरगोठ र बोटविरुवाको मुआब्जा वितरण गरिरहेको थियो । इकाइ खारेज भएपछि बाँकी रहेका काम कम्पनीमार्फत हुनुपर्नेमा कुनै काम नगरिएकाले आयोजना झन् पछाडि धकेलिएको महसुस भएको राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले बताए ।
बूढीगण्डकी सरोकार समिति आरुघाट विशालनगरका अध्यक्ष दिनेशप्रसाद ढकालले दर्ता छुट भएका जग्गा, ऐलानी जग्गामा बसोवास गर्ने र अर्काको जग्गामा घरटहरा बनाएर बसोबास गर्नेहरुलाई प्रक्रिया र्पुयाएर मुआब्जा दिने काम बाँकी नै रहेको बताए । डुवान क्षेत्रका बासिन्दाले पुनर्बास र पुनस्र्थापनाको काम सुरु गर्नुपर्ने बेलामा सरकार चुप बसेको भन्दै उनले असन्तुष्टि जनाए ।
२३ कात्तिक २०८० को मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थबाट उठाइने प्रतिलिटर ५ रुपैयाँ कर सिधै बूढीगण्डकीको खातामा जम्मा हुने निर्णय गरेको थियो । तर हालसम्म उक्त रकम बूढीगण्डकीको खातामा नआएको पनि सरोकारवालाले बताएका छन् । प्रभावितहरुको माग पूरा नभए धर्ना, घेराउ, प्रदर्शन जस्ता कार्यक्रमलाई निरन्तरता दिने उनीहरुको चेतावनी छ ।