नवलपुर । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले निर्वाचनको बेला आफूले गरेको प्रतिबद्धता पूरा गर्ने बताएका छन् ।
उद्योग वाणिज्य संघ नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को पाँचौं साधारण सभाका अवसरमा शनिबार गैंडाकोटमा आयोजित कार्यक्रममा उनले प्रतिबद्धताअनुसार काम भइरहेको बताए ।
‘मैले निर्वाचनका बेला यस क्षेत्रको विकासका लागि केही प्रतिबद्धता गरेको थिएँ, तीमध्ये केही योजना हुने प्रक्रियामा छन् । बाँकी प्रतिबद्धता पूरा गर्न म कटिवद्ध भएर लाग्नेछु,’ उनले भने ।
नारायणी नदी तटबन्धसहितको हरित सडक, बीपी अन्तर्राष्ट्रिय रंगशाला, ट्रमा सेन्टर लगायतका पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता आफूले जनाएको भन्दै ती कामको सुरुआत भइसकेको उनको भनाइ थियो ।
डा. कोइरालाले देशको समृद्धिका लागि सबैभन्दा बढी सम्भावनाको क्षेत्र कृषिमा लगानी बढाउन आवश्यक रहेकोमा जोड दिए । ‘नेपालको समृद्धिका लागि प्रचुर सम्भावनाका रूपमा रहेको कृषि क्षेत्रमा बजेट घट्दै गएको छ । अहिले कूल बजेटको ५ प्रतिशतका हाराहारीमा यस क्षेत्रको बजेट खुम्चिएको छ । अब कृषि क्षेत्रबाट परिवर्तन ल्याउन सोच परिवर्तन गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने ।
कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो पालामा नवलपुरलाई आर्थिक राजधानी बनाउने गरी कामको सुरुआत गरेको भए पनि त्यसले निरन्तरता पाउन नसकेको बताए । उनले आफ्नो पालामा नवलपुरको देवचुलीमा औद्योगिक क्षेत्र बनाउने भनेर काम अघि बढाएको भए पनि अहिले सो योजना अलपत्र अवस्थामा पुगेको भन्दै दुःख व्यक्त गरे । निजी क्षेत्रलाई लगानीतर्फ आकर्षित गरी सम्भावनाका क्षेत्रमा योजनाबद्ध विकास गरिनुपर्ने उनको भनाइ थियो ।
साधारणसभा उद्घाटनका क्रममा उद्योगी व्यवसायीले युवाहरू विदेश जाने क्रम बढ्दा नेपालको सम्भावनाका ढोका खुल्न नसकेका बताएका थिए । नेपालको शिक्षा पद्धतिका कारण युवा विदेशिने क्रम बढेको भन्दै उनीहरूले त्यसलाई रोक्नतर्फ सरकारले पहल गर्नुपर्नेमा जोड दिए । सरकारले लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सकेको अवस्थामा देशमा उद्यमशीलता वृद्धि हुने उद्योगीहरूको भनाइ थियो ।