काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि सहमत भएका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धन र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीचको छलफलमा संसदीय छानबिन समिति गठन गर्न दलहरू सहमत भएका कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । लेखकका अनुसार छानबिन समितिको कार्यादेश (टीओआर) आईतबार बिहान छलफलपछि टुंगो लगाइनेछ ।
‘सदनमा भइरहेको गतिरोध अन्त्यका लागि छानबिन समिति बनाएर जानुपर्छ भन्नेमा सकारात्मक छलफल भयो । सँगसँगै समितिको कार्यादेश के हुने भन्ने विषयमा पनि काम गर्ने कुरा भएको छ । समिति गठन गरेर जाने भन्नेमा सबै राजनीतिक दलहरूबीच समान धारणा बनेको छ । आजका लागि यसलाई उपलब्धिमूलक र सकारात्मक नै मान्नुपर्छ,’ उनले भने ।
छानबिन समितिको कार्यादेश निर्माणका लागि कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहजीकरण गर्ने र सबै दलका नेताहरू बसेर त्यसलाई मूर्तरूप दिइने पनि उनले बताए । छानबिन समिति गठन गर्ने सहमति भएसँगै समितिको कार्यादेश निर्धारणका लागि तयारी थालिएको र आईतबारको संसद् बैठक सहज रूपमा अघि बढ्ने विश्वास लिइएको उनको भनाइ छ ।
छानबिन समिति गठन गर्ने विषयमा शनिबार चरणवद्ध रूपमा छलफल भएको थियो । सुरूमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख देवराज घिमिरे, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, कानूनमन्त्री पदम गिरी लगायतसँग छलफल गरेका थिए । सभामुखसँगको छलफलपछि प्रधानमन्त्री दाहालसहित सत्तारुढ दलका नेताहरुले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, प्रमुख सचेतक लेखक लगायतसँग छलफल गरेका थिए ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिनामा मुछिएको विषयमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने मागसहित कांग्रेसले संसदमा अवरोध गर्दै आएको थियो ।