काठमाडौं । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्नलाई समात्न प्रहरीले हवाई फायर गरेको छ ।
घिमिरेको हत्यामा संलग्नहरू अष्टनारायण हल पछाडि र २२ धारा जंगलबाट भाग्न लागेको अवस्थामा एक राउन्ड हवाई फायर गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए ।
जिल्ला प्रहरी परिसर, टेकुमा आज पत्रकार सम्मेलन गरेर रजौरेले भने, ‘विभिन्न भौतिक तथा प्राविधिक पक्षको विश्लेषणपछि घिमिरेको हत्यामा संलग्न नाबालकसहित ७ जनालाई पक्राउ गरेका छौं ।’
गएको शुक्रबार तारकेश्वर नगरपालिका—९, मनमैंजुमा एक निर्माणाधीन घरको भुइँमा घिमिरे रक्ताम्ये अवस्थामा मृत फेला परेका थिए । त्यो घरलाई लागुऔषध प्रयोगकर्ताहरूले अखडा बनाएका प्रहरीले बताएको छ ।
पक्राउ पर्नेमा भक्तपुर घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, नुवाकोट घर भएकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जा घर भएकी २१ वर्षीया विपना भनिने वसुन्धारा कार्की, ५६ वर्षीया महिला, नुवाकोट घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र १३ वर्षका नाबालक छन् ।
प्रहरी जवान घिमिरे पहिले बसपार्क क्षेत्रमा कार्यरत रहँदा हाल पक्राउ परेका परियारसँग चिनजान भएको प्रहरी स्रोतले बतायो ।