काठमाडौं । खुला आकाशमूनी सडक जीवन बिताउन विवश घरबारविहीन, बेसहारा तथा जीवन नै जोखिममा रहेका मनोरोगी, अनाथ, अपाङ्ग, अशक्त, असहाय एवं सहयोगापेक्षी मानवहरुको उद्दार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलन गराउने काम मानव सेवा आश्रमले गर्दै आएको छ ।
बेसहारा सडक मानवहरुको अवस्था अध्ययन तथा यथार्थ विवरण संकलन गर्ने र कसैलेपनि सडकमा आउन नपर्ने अवस्था निर्माण गर्न हरेक नागरिकलाई जिम्मेवार बनाउन विभिन्न मानवता प्रवद्र्धन सम्बन्धि कार्यक्रमहरु सञ्चालन मानव सेवा आश्रमले गरीरहेको छ ।
अहिले मकवानपुरको लामसुरेधापमा (२ वटा सेवाकेन्द्र), चितवनको भरतपुर, काठमाडौंको सामाखुशी, तौलुङ, बुढानिलकण्ठ र रुद्रेश्वर, बुढानिलकण्ठ, ललितपुरको हात्तिवन र नागदह, भक्तपुरको कौशलटार, गोरखाको गोरखाबजार, लमजुङ्गको बेशीसहर, पर्साको बीरगंज, बागलुङको बागलुङ बजार, कास्कीको पोखरा र हेम्जा, रुपन्देहीको बुटवल सुख्खानगरमा (२ वटा), सुर्खेतको बीरेन्द्रनगर, कैलालीको धनगढी, मोरङको विराटनगर स्थित तिलटोलिया र पोखरीया, सर्लाहीको हरिवन, झापाको बाउनडागीमा, दाङको तुलसिपुर, जनकपुरधाम जनकपुर र बाकेको नेपालगंज गरी देशका २३ स्थानमा मानव सेवा आश्रम सञ्चालनमा रहेका छन् ।
स्वाथ्यकर्मी तथा समाजसेवी महेन्द्र कुमार थापाको पृष्ठभूमि
दैलेख जिल्लाको दुल्लुमा जन्मिएका थापा मानव सेवा आश्रम सुर्खेतको युवा परिवार संयोजक हुन् । घरपरिवार, आफन्त र समाजबाटै अपहेलित भई जंगल, ओडार, सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टकर जीवन बिताईरहेका व्यक्तिहरुको उद्धारमा खटिन्छन् उनी । त्यसैले महेन्द्रकुमार थापा (मानवसेवा) नामले परिचित छन् ।
विभिन्न कारणले जंगल, ओडार, सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताईरहेका दुई सय जना बढि व्यक्तिहरुको उद्धार र पारिवारिक पुर्नमिलन गराएका थापा भन्छन् कतिपय व्यक्तिहरुलाई मानव सेवा आश्रममा राखेर आश्रय दिने गरेका छौँ । एसएलसीसम्मको अध्ययन दुल्लुमै पुरा गरेका थापा गाउँमा हुँदा पनि सहयोगी स्वभावका थिए । उनि उद्धार र सहयोगमा जुट्थे ।
पढाईसँगै कर्णाली प्रदेश सुर्खेतलाई कर्मथलो बनाएपछि मानसिक रुपमा समस्या भोगिरहेका, मनोरोगी र साहारा खोजिरहेका व्यक्तिहरुको सेवामा काम गर्ने अवसर पाएँ । घरको गेटमा आउँदा धपाईएका व्यक्तिहरुको सेवा गर्न पाउँदा मन आनन्दित हुने उनको भनाइ छ । जागिरलाई सेवाको रुपमा काम गर्नुपर्ने थापा बताउँछन् ।
छात्रबृत्तिमा सुर्खेतस्थित सेडा स्कुलमा एचए अध्ययन सकेर मध्यपश्चिम विश्वविद्यालयमा अन्तराष्ट्रिय सम्बन्ध विषयमा स्नातक तह अध्ययनरत थापा विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीमा दैलेखको महाबु गाउँपालिमा गएर सेवामा खटिए ।
उनी प्रदेश अस्पतालमा आउने बेसाहारा, आर्थिक अभावमा उपचार नपाएका बिरामीको उपचारका लागि पहल गर्थे । उनको समन्वय र सहकार्यमा सयौँ बिरामीले निःशुल्क उपचार पाएका छन् । अस्पतालमा अलपत्र अवस्थामा रहेका शवहरुको व्यवस्थापन, अस्पतालमा उपचाररत बिरामीलाई रगतको जोहो गर्न उनै महेन्द्र अहोरात्र खटिन्छन् ।
जाजारकोटमा गएको भूकम्पको बेला उद्धार कार्यमा पनि थापा अग्रपंक्तिमा रहेर खटिएका थिए । सुर्खेतबाट भूकम्प गएको बेला जाजरकोट पुग्ने उनै पहिलो व्यक्ति पनि हुन । रातको १२ बजे एक्लै कुनै कुराको प्रवाह नगरि मोटरसाइकल यात्रामा थापा जाजरकोट पुगेर उद्धार कार्यमा खटिएका थिए । त्यसपछि राहात र पुर्नस्थापनामा पनि थापा अहिलेसम्म अहोरात्र खटिरहेका छन् ।
आफ्नो आम्दानीको दश प्रतिशत रकम मानव सेवामा खर्चिदै आएका थापाले मानसिक रुपमा कमजोर र विक्षिप्त भएका व्यक्तिहरुलाई अवहेलना नभई माया दिनुपर्ने बताउँछन् ।
विभिन्न निकायको सहयोग र समन्वयमा कर्णालीका विभिन्न क्षेत्रमा स्वास्थ्य शिविरहरु चलाउँदै आएका थापा भन्छन् मानवीयता कायम गर्ने र सडक मानवमुक्त बनाउने सपना छ ।
उनै थापासँग मानव सेवा आश्रम सुर्खेत शाखाले गर्दै आइरहेको काम र स्वाथ्यका विषयमा केन्द्रित रहेर व्यवस्था डटकमका लागि भावना हमालले गरेको कुराकानीको सम्पादित अंश :
मानव सेवा आश्रम सुर्खेतले अहिलेसम्म के कस्ता कामहरु गर्दै आइरहेको छ ?
मानव सेवा आश्रम सुर्खेतले सडक पेटीमा नै बेवारिसे छोडिएका ५ जना छोरीहरुलाई आश्रम ल्याएर उनीहरुको गास, बास, कपास र शिक्षा, स्वस्थ्य लगायतको व्यवस्था गरिरहेको छ ।
मानसिक रुपमा विक्षिप्त भएका जसको कोही छैन, जसको केही छैन उनको लागि नाना, छाना, खाना, स्वस्थ्य उपाचार पश्चात पारिवारिक स्नेह मिलन र कोही नभएकालाई मानव सेवा आश्रममा आश्रय दिँदै आएको छ ।
अहिले मानव सेवा आश्रम सुर्खेतले परिवार नभएका १०० जना आमाबुबाहरुलाई आश्रय दिएर उनीहरुलाई गास, बास, कपास लगायत स्वास्थ्य उपचार सहित सेवा गर्दै आइरहेको छ । यस मानव सेवा आश्रमले मेची महाकाली राष्ट्रिय उद्वार कार्यक्रमलाई निरन्तरता दिएको छ ।
बेवारिसे अवस्थामा रहेका मानिसको उद्वार गर्ने काम सरकारको हो । तर पनि तपाईहरुले गरीरहनु भएको छ । स्थानीय सरकारसंगको समन्वय कस्तो छ ?
स्थानीय, प्रदेश र संघ सरकारबाट पूर्ण रुपमा स्वामित्व ग्रहण गरि हामिलाई सेवकको रुपमा प्रेरणा थप्दै अभिभावकत्व ग्रहण गरेको भए मानव सेवा आश्रम व्यवस्थापनमा सहज र सरल तरिकाले सेवालाई प्रभावकारी बनाउँन सकिने र त्यस्ता वेवारिसे अवस्थामा रहेका नागरिकलाई सहजै आश्रम ल्याउन सकिन्थ्यो ।
मानव सेवा आश्रम अहिलेपनि भाडाको घरमा बस्दै आएकोले राज्यका तिनै तहका सरकारबाट आपसी समझदारी र सहयोगको अपेक्षा रहेको हुनाले हामि चाहान्छौ यो समस्यालाई समाधान गर्न सबैको तर्फबाट पहल कदमी हुनुपर्छ ।
अहिले हामिले खेपेको प्रमुख चुनौती यहि हो । सरकारसंग सहयोग माग्न जाँदा अपहेलित हुनुपर्ने, माग्नेका लागि माग्ने आएँ भन्ने जस्ता व्यवहारहरुको अनुभूति गर्नुपर्ने अवस्था छ । अहिलेसम्म सरकारले खासै चासो दिएको छैन् ।
भनिन्छ मानव सेवा नै सर्वोत्कृष्ट धर्म हो । तर पनि समाजसेवा गर्न सोचे जस्तो सहज छैन् । तपाईहरुले बेवारिसे मानिसहरुको उद्वार गरिरहदाँ समाजका मानिसबाट कत्तिको सहयोग पाउनु भएको छ ?
मानसिक रुपमा विक्षिप्त नागरिकहरुको व्यवस्थापनका लागि अभियान अगाडी बढाइरहदाँ सकारात्मक सोच भएका परोपकारी मनहरुबाट आफ्नो शुभजन्मोत्सव, शुभबैबाहिक जिवनको अवसरमा र पृतिहरुको सम्झनामा एकछाक भोजन गराई मानव सेवा आश्रमलाई भोजन सेवामा सहयोग पुराउँदै आएका छन् ।
केही तुच्छ व्यवहार भएका नागरिकहरुबाट एनजिओ नाम दिई भ्रष्टाचारीहरु र सेवाको नाममा घर बनाउँने भन्ने शब्दहरुले कहिलेकाँही मन दुख्ने गर्दछ ।
सेवा सहजिकरणका लागि समन्वय गर्न जाँदा हजुरहरु पनि माग्ने नै भए माग्नेलाई नै माग्न दिएको भए त भैहाल्थो नि भन्ने जस्ता शब्द सुन्नुपर्दा निराशाबादी बनाउँछ तरपनि सेवा सकारात्मक भएका कारण सेवालाई प्रभावकारी बनाउँन सबैको सहयोग रहिरहेको छ ।
बेवारिसे मानिसहरुको उद्वार गरिरहदाँ समाजका केहि मानिसबाट मात्रै सहयोग भैरहेको छ ।
अहिलेसम्म मानव सेवा आश्रम सुर्खेतले कति जनाको पारिवारिक पुनर्मिलन गराउने काम गर्यो ?
मानव सेवा आश्रम कर्णाली प्रदेश शाखा देशकै पहिलो सडक मानवमुक्त प्रदेश घोषणा गरेपश्चात कर्णाली प्रदेशका बिभिन्न जिल्लाहरुबाट उद्धार गरि कर्णाली प्रदेश शाखामा पालनपोषण र उपाचार पश्चात मुहारमा मुस्कान ल्याई परिवारको सेवालाई प्रभावकारी बनाउँन सक्ने बनाएको छ ।
स्वदेशी तथा विदेशी नागरिकहरु गरि करिब २ सय बढीलाई पारिवारिक पुनर्मिलन गराइसकेको छ ।
अत्यमा स्वाथ्यकर्मी भएको नाताले आम नागरिकलाई स्वथ्य रहनको लागि के सल्लाह दिनुहुन्छ ?
नेपाल नाथैनाथको देश हो । जस्तै स्वयम्बुनाथ, पशुपतिनाथ, मच्छेन्द्रनाथ र शान्तीका प्रतिक गौतमवुद्धको जन्मस्थान भएको कारणले गर्दा नेपालमा बस्ने कोहिपनि नागरिहरुलाई नाना, छाना, खाना, स्वास्थ्यजस्ता कुराहरुबाट बन्चित भई सडक पेटीमा वेवारिसे जिवनयापन गर्न नपरोस् र कर्णालीका नागरिकले सिटामोल नपाई सामान्य रोगबाट पनि मृत्युबरण गर्न नपरोस् ।
नागरिकको स्वास्थ्य समस्याबाट निम्तने विभिन्न किसिमका महामारीबाट हरेक नेपाली नागरिकलाई बचाउँन स्वास्थ्य शिबिर र मानसिक, सामाजिक तथा भौतिक रुपमा स्वस्थकर राख्न नागरिकको आयस्तरलाई वृद्धि गर्न स्वास्थ्य शिक्षालाई व्यवस्थित गर्दै सहकार्य, समन्वय गरि सरकारलाई सहयोग गर्नुपर्छ ।
सबै नागरिकले आफ्नो स्वास्थ्यलाई स्वथ्य राख्नको लागि हरेक दिन व्यायाम गर्न आवश्यक छ । विश्व स्वस्थ्य संगठनका अनुसार स्वस्थ्य केवल रोगबाट मुक्त हुनु मात्र नभइ शारिरीक, मानसिक, सामाजीक र आध्यात्मिक रुपमा स्वस्थ्य हुनु हो ।
शारीरिक रुपमा स्वस्थ्य छौं तर मनमा दुःख र पीडाका भावहरु सलवलाइ रहेका छन् भने त्यसले मानसिक रोगका कारणहरु पैदा गरिरहेको हुन्छ । जसले गर्दा सामाजिक स्वस्थ्य र आध्यात्मिक स्वस्थ्यमा समेत उत्तार चढाव आइरहन्छ । त्यसैले स्वस्थ्यका लागि आहार, निद्रा, व्रह्मचर्य, व्यायाम, स्नान र ध्यान यी महत्वपूर्ण विधिहरुको प्रयोग गर्नुपर्छ ।