स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले ‘संस्कार शिक्षा’ को पठनपाठन गराउन सुरु गरेको छ । पछिल्लो समय संस्कार संस्कृति तथा नैतिक शिक्षाको कमीका कारण युवापुस्तामा आफ्नो संस्कारसम्बन्धी ज्ञानको अभाव देखिन थालेको भन्दै पालिकाले ‘संस्कार शिक्षा’ को पठनपाठन सुरु गरेको हो ।
आफ्ना मौलिक कला, संस्कृति, चालचलनको संरक्षण, सम्वद्र्न र पछिल्लो पुस्तालाई संस्कारयुक्त बनाउनका लागि संस्कार शिक्षा पठाउन थालिएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए । स्थानीय पाठ्यक्रमअन्तर्गत संस्कार शिक्षा उपयुक्त लागेकाले चालु शैक्षिकसत्रको सुरुदेखि कक्षा ६, ७ र ८ मा पठनपाठन थालिएको उनले बताए । डा. स्वामी केशवानन्दद्वारा लिखित संस्कार शिक्षा लागू गर्ने देशभरमै पालिकास्तरमा अर्जुनचौपारी पहिलो भएको दाबी छ ।
पाठ्यपुस्तकमा नैतिक ज्ञानगुनका विषयहरुलाई कथा, कविताकामाध्यमबाट प्रस्तुत गरिएको छ । पछिल्लो समय आधुनिक शिक्षाको विकासक्रमसँगै संस्कारयुक्त शिक्षा, नैतिक शिक्षा पछाडि पर्दै गइरहेको र सबैभन्दा पहिला संस्कारयुक्त व्यक्ति निर्माण गर्दै अन्ततः संस्कारयुक्त समाज निर्माण गर्न यो पाठ्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेमा उनले बताए । हाल पठनपाठनमा रहेको संस्कार शिक्षाको भाग १, २ र ३ प्रकाशन गरी कक्षा ६, ७ र ८ मा लागू गर्ने अध्यक्ष तिवारीले बताए।
संस्कार शिक्षाले हाम्रो रीतिरिवाज, परम्परा, चालचलन, संस्कार संस्कृतिहरुकाबारेमा पछिल्लो पुस्तालाई ज्ञान दिने भएकाले पनि संस्कार संस्कृतिको रक्षाका लागि समय सान्दर्भिक रहेको अध्यक्ष तिवारीको भनाइ छ ।
पाठ्यपुस्तक पठनपाठन गर्ने क्रममा यसलाई अझै समयसापेक्ष परिमार्जन गर्दै विषयवस्तुलाई थप गर्दै लैजाने गरी तयारी भएको छ । अर्जुनचौपारी गाउँपालिकाका सामुदायिक र संस्थागत गरी एघार विद्यालयमा चालु शैक्षिकसत्रदेखि संस्कार शिक्षा पठनपाठनमा भइरहेको छ । गाउँपालिकाले उक्त पाठ्यपुस्तक विद्यार्थीलाई निःशुल्क उपलब्ध गराएको छ ।