काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको आर्थिक विकास गर्न भौतिक पूवार्धार निर्माण पहिलो सर्त भएको बताएका छन् । नेपाल इन्जिनियर्स एसोसिएसनको ६१औँ वार्षिकोत्सवलाई बुधबार सम्बोधन गर्दै उनले समाजवादको आधार तयार पार्न पूर्वाधार क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताएका हुन् ।
आन्तरिक स्रोत साधन कम भएको नेपाल विकास बजेट चालु खर्चको तुलनामा न्यून रहेको उल्लेख गर्दै उनले न्यून बजेट पनि समयमा खर्च गर्न नसक्नु विडम्बना रहेको बताए । विकास बजेटको ठूलो हिस्सा असारमा खर्च हुने गरेको यथार्थ स्वीकार गर्दै उनले असारमा गरिएका विकास र निर्माण गरिएका पूर्वाधारमा मनसुनको बाढी र पहिराले क्षति पुर्याउने बताए ।
प्रधानमन्त्री दाहालले बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ स्रोतको पनि सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नैपर्ने बताए । उनले समयमै निर्माणको थालनी नहुने अवस्थाको समाधानका लागि कानुनी, संरचनागत र प्रक्रियागत समस्या र त्रुटिमा सहजीकरण गर्न सरकार तत्पर रहेको बताए ।
विकास र पूर्वाधार बिना आर्थिक उन्नति सम्भव नरहेको भन्दै उनले विकासका लागि सरकार, निजी क्षेत्र र वैदेशिक लगानी आवश्यक भएको बताए । विकासको गति तीव्र भएपछि नै मुलुकको आर्थिक अवस्थामा सुधार आउने विश्वास व्यक्त गर्दै उनले आम नेपालीको मुहारमा खुसी ल्याउन वर्तमान सरकार लागि परेको बताए ।
प्रधानमन्त्री दाहालले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार प्रतिबद्धता रहेको बताए ।
कार्यक्रममा प्रधानमन्त्री दाहालले विभिन्न विधामा उत्कृष्ट इन्जिनियरलाई सम्मान गरेका छन् ।