ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत सोमबार भएको पाथीभरा म्याराथन दौडमा त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ प्रथम भएका छन् ।
श्रेष्ठले फुङलिङ–पाथीभरा ४८ किलोमिटरको निर्धारित दूरी ४ घण्टा ५ मिनेट २७ सेकेन्डमा पूरा गरेका थिए ।
प्रथम भएका श्रेष्ठले १ लाख ५१ हजार १११ सहित प्रमाणपत्र पाएका छन् । त्रिभुवन आर्मी क्लबकै तिलक सुनुवार द्वितीय भएका छन् ।
उनले निर्धारित दूरी ४ घण्टा १२ मिनेट ४८ सेकेन्डमा पूरा गरेका थिए । उनले १ लाख ११ हजार १११ सहित प्रमाणपत्र प्राप्त गरे । तृतीय भएका आर्मीकै प्रताप थाम्सुहाङले ४ घण्टा १३ मिनेट २४ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए । उनलाई ५१ हजार १११ सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
पाथीभरा खुला म्याराथनमा ११४ जना सहभागी भएका थिए ।
महिला हाफ म्याराथनतर्फको उपाधि पनि आर्मी क्लबकै सुनसरी रोकाया प्रथम भएका छन् । रोकायाले सदरमुकाम–काफ्लेपाटी ३९ किलोमिटरको निर्धारित दूरी ३ घण्टा ४४ मिनेट ५२ सेकेन्डमा पूरा गरेका थिए ।
फुङलिङ–६ की कुमारी गुरुङ ४ घण्टा २२ मिनेट ५३ सेकेन्डमा निर्धारित दूरी पार गरी दोस्रो भएकी छन् । मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुकी विनिता तामाङले चार घण्टा २७ मिनेट ४९ सेकेन्डमा निर्धारित दूरी पार गरी तेस्रो भएकी छन् । महिलातर्फका प्रथम, द्वितीय र तृतीयले क्रमशः ८१ हजार १११, ५१ हजार १११ र ३१ हजार १११ सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
महिला हाफ म्याराथन दौडमा ४७ धावक सहभागी हुनुभएको पाथीभरा म्याराथन दौड व्यवस्थापन उपसमितिका संयोजक विनोद भारतीले जानकारी दिए । जेठ ३ गतेदेखि सुरु भएको ताप्लेजुङ महोत्सव सोमबार सम्पन्न भएको छ ।
महोत्सवअन्तर्गत डोको क्यारी रन, अन्तरपालिकास्तरीय मेयरकप रनिङ भलिबल प्रतियोगिता सहितका खेलकुद भएका छन् भने पाथीभरा साइकल यात्रासमेत सम्पन्न भएको छ ।
जिल्लाको पर्यटन प्रवद्र्धन र विकासका लागि आयोजित महोत्सवमा घरेलु औद्योगिक कृषि प्रदर्शनी, विभिन्न जातीय समुदायका खाद्य परिकारका कक्ष राखिएका थिए । महोत्सवमा हरेक दिन सांस्कृतिक तथा सांगीतिक कार्यक्रम गरिएका थिए ।
आईतबार गायक प्रताप दास सहितका कलाकारले आफ्नो प्रस्तुति देखाएका थिए भने सोमबार समापनको दिन गायिका रचना रिमाल प्रस्तुति रहेको थियो ।