काठमाडौ । फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा उक्त आर्थिक सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल तथा नेपालका लागि फिनिस राजदूत सुश्री रिना–रिक्का हेक्काले हस्ताक्षर गरिन । गत ३ जेठमा बसेको मन्त्रिपरिषद बैठकले उक्त सहयोग रकम स्वीकार गर्ने निर्णय गरेको थियो ।
सम्झौताअनुसार फिनल्याण्डले नेपाललाई १३ मिलियन यूरो अर्थात एक अर्ब ८७ करोड अनुदान दिने छ । यो अनुदान रकमबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमार्फत जलवायु अनुकूलन कार्यक्रम सञ्चालन गरिनेछन् ।
युरोपेली सङ्घ र अर्थ मन्त्रालयबीच त्यससम्बन्धी सम्झौतापत्रमा यसअघि नै हस्ताक्षर भइसकेको छ । गत वर्षको साउन ६ मा भएको उक्त नेपालका तर्फबाट अर्थ मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल र सङ्घका तर्फबाट मध्यपूर्व र एसिया प्रशान्त क्षेत्र हेर्ने निर्देशक पेटेरियस युस्तुब्सले हस्ताक्षर गरे।
नेपाल र फिनल्याण्ड तथा पुरोपेली सङ्घबीच कूटनीतिकसम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा उक्त सम्झौता भएको जानकारी दिइएको छ । आयोजनाको कार्यान्वयन आगामी आर्थिक वर्ष २०८१र८२ मा हुनेछ ।
कार्यक्रममा सहसचिव नेपालले जलवायु परिवर्तनमा स्थानीय अनुकूलन तथा प्राकृतिक स्रोत व्यवस्थापनमार्फत जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्ने लक्ष्य आयोजनाले राखेको बताए ।
संयुक्त अरब इमिरेट्को दुबईमा गत कात्तिकमा सम्पन्न कोप–२८ मा कार्बन उत्सर्जनमा नगन्य भूमिका भएका तर जलवायु परिवर्तनको प्रतिकूल प्रभावबाट जोखिममा रहेका नेपालजस्ता विकासोन्मुख मुलुकलाई विकसित मुलुकले जलवायु अनुकूलन कार्यक्रमका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
सम्मेलनले विश्वव्यापी तापमान वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित राख्न विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनलाई सम्ममा ४३ प्रतिशत घटाउनुपर्ने निष्कर्ष निकालेको थियो ।