काठमाडौं । बागमती प्रदेश अन्तर्गत दोलखा जिल्लाको दक्षिणी भु-भागमा प्रसिद्ध तामाकोशी नदी र खिम्ती खोलाको किनारमा अवस्थित तामाकोशी गाउँपालिका विकास र सम्वृद्धिको सम्भावनाका दृष्टिकोणले परिचित छ ।
साविकको भिरकोट, झुले, जफे, मालु, शहरे, च्यामा र हाँवा लगायत ७ गाविसहरू मिलेर बनेको यस गाउँपालिकाको उत्तरमा बैतेश्वर गाउँपालिका, दक्षिणमा खिम्ती खोला र रामेछापको गोकुलगंगा गाउँपालिका, पश्चिममा मेलुङ्ग गाउँपालिका र पुर्वमा जिरी नगरपालिका रहेका छन् ।
पर्यटकीय दृष्टिकोणले पनि दोलखा भरिपूर्ण मानिन्छ । दोलखालाई प्रकृतिले वरदान दिएझै लाग्छ । यहाँ रहेका ठूला ठूला खोलानाला, झरना, भीरपाखा, हिमाल मात्र होइन । धार्मिक, सांस्कृतिक रुपमा पनि अब्बल मानिन्छ । यही जिल्लामा अवस्थित तामाकोशी गाउँपालिकाको अध्यक्षको जिम्मेवारी नेकपा (एकीकृत समाजवादी)का प्रोणप्रताप केसीले सम्हालेका छन् भने उपाध्यक्षको जिम्मेवारी नेपाली काङ्ग्रेसबाट निर्वाचित सीर्जना सुवेदीले सम्हालेकी छिन् ।
गाउँपालिकाका अध्यक्ष केसी विद्यार्थी जीवनदेखि नै अनेरास्ववियूको राजनीतिमा सक्रिय रहे । उनी सांगठनिक जीवनका हिसाबले २०५४ सालदेखि मात्र संगठित भए । केसी तत्कालीन अवस्थामा नेकपा एमालेको जिल्ला कमिटी, दोलखाको उप-सचिव भै कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेका थिए । अधिवक्ता समेत रहेका केसी पछिल्लो समय वकालत छाडेर अलि बढी समाजसेवा र राजनीतिमा सक्रिय रहे । यही शिलसिलामा उनी २०७९ को स्थानीय निर्वाचनमा नेकपा एकीकृत समाजवादीको तर्फबाट तामाकोशी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिए र उनलाई जनताले भारी मतका साथ विजयी पनि गराए ।
जनताको आसा र भरोसालाई कायम राख्नका लागि उनी अहिले आफ्नो अध्यक्षको जिम्मेवारी इमान्दारपूर्वक पूरा गर्न लागि परेका छन् । यस गाउँपालिकाले बजेटमा कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य लगायतका विषयलाई मुख्य प्राथमिकतामा राखेर काम गर्दै आएको छ । स्थानीय तहमा निर्वाचित भएर आएपछि गाउँपालिकामा के-कस्ता विकास निर्माणका काम भएका छन् ? पालिकाको विकासका लागि सङ्घीय सरकार र प्रदेश सरकारसँग के कसरी समन्वय भैरहेको छ ? यी र यस्तै गतिविधिका बारेमा केन्द्रित भएर गाउँपालिका अध्यक्ष केसीसँग व्यवस्था डटकमका लागि सन्तोषी कार्कीले लिएको अन्तर्वार्ताको सम्पादित अंश :
अधिवक्ता, राजनीतिज्ञ अनि पत्रकार यी सबैको बीचमा जनप्रतिनिधिको भूमिकामा आउँदा के फरक पाउनुभयो ?
हरेक व्यक्तिको सामाजिक भूमिका र पद फरक फरक रहन सक्छ तर जिम्मेवारीका हिसाबले मैले खासै फरक महसुस गरेको छैन । सानैदेखि सामाजिक कार्यहरु र जनतासँग जोडिने अवसर मिलेको हुँदा जुनसुकै भूमिकामा रहँदा पनि समाजसेवा र जनतासँगै अधिकतम घुलमिल भईरहेको हुँदा जनप्रतिनिधिको भूमिकासम्म आइपुग्दा आफ्नो रुची, विचार, सिद्धान्त र व्यवहारमा तालमेल भएको अनुभुति गरेको छु ।
गाउँपालिका अध्यक्षको कार्यभार सम्हालेदेखि तपाईको कार्यकालमा अहिलेसम्म भएका मुख्य–मुख्य काम के के हुन् ?
हामीले २०७९ मा निर्वाचन जितेर आउँदासम्मको अवस्थामा अघिल्लो कार्यकालमा निर्वाचित जनप्रतिनिधिहरुले जहाँबाट छाडेर जानुभएको थियो करिब-करिब सोही बिन्दुबाट हाम्रो कार्यकाल सुरुभयो ।
भौतिक संरचना निर्माण लगायतका कतिपय विकास निर्माणका क्षेत्रका अघिल्लो कार्यकालमा उल्लेख्य कार्यहरु भएको पाइयो । तर पनि जनताको जीवनस्तर सुधार गर्ने, कृषि पशुपालन व्यवसायको प्रवर्द्धन गरी सर्वसाधरणमा आशा जगाउने, शैक्षिक क्षेत्रमा खस्कदो गुणस्तर सुधार गर्ने, शैक्षिक बचत कार्यक्रमको सुरुवात, सुलभ स्वास्थ्य सेवामा सबै जनताको पहुँच, मुख्य तथा ग्रामीण सडकहरुको स्तरोन्नति गर्ने लगायतका क्षेत्रमा कामहरु भएका छन् । यस्तै लामो समयदेखि विवादित भई टुंगिन नसकेको गाउँपालिकाको केन्द्र सम्बन्धी विवाद समाधान गरी पालिकाको केन्द्र टुंगो लगाइ जग्गा प्राप्तिको प्रक्रिया अघि बढेको छ ।
तपाईं गाउँपालिका अध्यक्ष भएर आइसकेपछि गाउँपालिकामा प्रमुख उपलब्धि के–के भए?
मैले अघि नै भनिसके कृषि पशुपालनको क्षेत्रमा जनतालाई जोड्ने र कृषि उत्पादनलाई बढावा दिदै कृषिमा आत्मनिर्भर गाउँपालिका बनाउने प्राथमिकता बमोजिम गाउँपालिका, सहकारी र किसानहरुको लागत साझेदारीमा सहूलियतपूर्ण ऋण प्रवाह गर्ने कार्यक्रम गाउँपालिका र संघीय सरकारको विशेष अनुदानबाट प्राप्त रकम मार्फत कार्यविधि तयार पारि सो बमोजिम साझेदार सहकारी संस्था मार्फत ६ प्रतिशत व्याजदरमा ऋण लगानी गर्नका लागि साझेदार संस्था छनौट गरि सकिएको छ ।
त्यसबाट बाँझो रहेका कृषि जमिनको सदुपयोग बढ्ने, कृषिमा किसानहरुको सक्रियता बढ्ने र उत्पादन बढ्ने र समग्र कृषि क्षेत्रलाई व्यवसायिक बनाउने अपेक्षा गरिएको छ । शिक्षामा माथि उल्लेख गरिए अनुसार भएका प्रयासहरुका अलावा ०-१२ कक्षामा अध्ययनरत सबै विद्यार्थीहरुलाई भविष्यमा उच्च शिक्षामा सहयोग पुग्ने र विद्यार्थी अभिभावकहरुमा बचत गर्ने बानीको विकास गर्ने उदेश्य बमोजिम सहकारी संस्था, विद्यालय र गाउँपालिकाको सहकार्यमा गाउँपालिकाले मासिक १०० का दरले विद्यार्थीहरुको खातामा जम्मा गर्न सुरुवात गरिएको छ । त्यसमा अभिभावकको पनि १०० थप गर्नुपर्ने र बचत गर्न नसक्नेहरुको हकमा विद्यालय र गाउँपालिकाले सहयोग गर्ने व्यवस्था छ ।
स्वास्थ्य बीमा कार्यक्रम मार्फत ६५ वर्ष माथिका ज्येष्ठ नागरिक, एकल महिला र असहाय नागरिकको निशुल्क स्वास्थ्य बीमा गर्ने सोच बनाएका छौँ । ज्येष्ठ नागरिक घरदैलो तथा स्वास्थ्य उपचार कार्यक्रम वार्षिक २ पटक सञ्चालन हुन्छ । दीर्घ रोगीहहरुको लागि निशुल्क औषधि वितरण, गर्भवती र सुत्केरीहरुको जाँच र जटिलता भएका गर्भवतीहरुको लागि निशुल्क एम्बुलेन्स सेवा, धेरै प्रकारका जटिल रोगको उपचारका लागि २० देखि ५० हजार आर्थिक सहयोग सहित उपचारमा सहयोग जस्ता कार्यक्रम सञ्चालित छन् । मानसिक रोगिहरुलाई हरेक तीन महिनामा उपचारमा जाँदा यातायात खर्च वापत ५ हजार र सुत्केरी महिलाहरूलाई पोषणयुक्त खानाको लागि २ हजार उपलब्ध गरिएको छ । त्यस्तै नियमित विकास निर्माण, रोजगारी सृजना, समग्र आर्थिक र सामाजिक क्षेत्रको विकासलाई लक्षित गरि कामहरु भइरहेकै छन् ।
तपाईँ आउँदा र जाँदाको तपाईँको गाउँपालिकामा जनताले के फरक देख्न पाउनेछन् ?
हाम्रो गाउँपालिका मुख्य नारा “तामाकोशी गाउँपालिकाको समृद्धिको आधाः कृषि, पर्यटन, जलस्रोत र पूर्वाधार” लाई साकार पार्ने दिशामा हामी कामहरु गरिरहेका छौँ । मुख्य गरी जनतालाई उत्पादनमा जोड्दै कृषि र पशुपालन क्षेत्रमा आत्मनिर्भर बनाउने र गाउँबाट सहर पलायन हुने नागरिकहरुलाई गाउँमै बस्ने वातावरण बनाउने तर्फ हामीले विभिन्न प्रयासहरुको थालनी गरिसकेका छौँ ।
त्यसका लागि मुख्यतया शैक्षिक क्षेत्रका समस्या समाधान गर्न चरणबद्ध रुपमा शिक्षक विद्यार्थी अनुपातको आधारमा दरबन्दी मिलान, अनुदान शिक्षक, ०-१२ कक्षासम्मका शिक्षक कर्मचारी र विद्यार्थीहरुको लागि दिवा खाजाको थप व्यवस्था, विशेष कक्षा सञ्चालन लगायत विद्यार्थी भर्ना प्रोत्साहन गर्ने कार्यक्रमहरु सञ्चालन गरेका छौँ । साथै शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन सूचना प्रविधिमैत्री सिकाईलाई जोड दिईएको छ ।
विद्यालयहरुमा सुविधा सम्पन्न भौतिक पूर्वाधार, प्रयोगशाला, पुस्तकालय, कम्प्युटर प्रयोगशाला आदिको व्यवस्थापन समेत भइसकेको अवस्थामा शैक्षिक क्षेत्रमा हाम्रो कार्यकाल सकिँदा गुणस्तर सुधार हुनेछ । स्वास्थ्य सेवा थप प्रभावकारी हुनेछ । भौतिक पूर्वाधारका क्षेत्रमा उल्लेखीय कार्यहरु भएको छ यद्यपि भौतिक पूर्वाधारमा ठूलो रकमको आवश्यकता पर्ने हुँदा हाम्रो श्रोत र साधनबाट मात्रै आम जनचाहना र माग बमोजिम सबै कामहरु सम्भव नहुने देखिन्छ । पुराना सडक स्तरोन्नती भई सबै वडाका कच्चि कृषि सडकहरुमा समेत वर्षभरी गाडि चल्ने व्यवस्था भएको हुनेछ । तामाकोशी रोजगार कार्यक्रम र प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत उल्लेखीय रोजगारी श्रृजना भएको हुनेछ । सबैभन्दा महत्वपूर्ण गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण सम्पन्न भई त्यसबाट प्रसाशनिक कामकारबाही सञ्चालन गर्ने छौं ।
काम गर्ने क्रममा कस्ता चुनौतिहरु खेपिरहनु भएको छ ?
चुनौतीको रूपमा खास जटिलता नरहेपनि फेरिएको परिस्थितिमा गठबन्धनको संस्कार स्थापित गरी हिजोको परिस्थितिमा बाचा गरिए अनुसार काम गर्ने कतिपय परिस्थितिहरूको व्यवस्थापन गर्न र सबैका भावना अनुसार काम गर्न कठिनाइ भइरहेको छ । ठूलो बजेटको अभावमा जन–चाहना बमोजिम भौतिक पूर्वाधार, पर्यटन पूर्वाधार, ठूला सडक योजना जस्ता योजना र कार्यक्रमहरू हाम्रो चाहना र प्राथमिकतामा रहँदारहदै गर्न नसकिने अवस्था छ ।
यस पालिकाको मुख्य समस्या के–के हुन् र कसरी समाधान गर्ने योजना छ ?
दरबन्दी अनुसारका कर्मचारीको व्यवस्थापन हुन नसक्दा वडाहरूबाट प्रवाह हुने सेवामा केहि समस्या भएको छ । अनुमान गरिए बमोजिमको बजेट संघ र प्रदेश सरकारबाट निकासा नहुँदा योजना तथा कार्यक्रम कार्यान्वयनमा समस्या आउन थालेको छ । त्यस्ता समस्या समाधानको लागि सकेसम्म उपलब्ध भएका कर्मचारीहरूलाई थप जिम्मेवारी दिई समस्या समाधान गर्ने प्रयास गरिएको छ । आन्तरिक रूपमा छलफल र सहकार्य तथा माथिल्ला सरकारहरूसँगको समन्वय मार्फत समस्या र जटिलताको हल गर्ने गरिएको छ ।
पालिकाको विकासका लागि सङ्घीय सरकार र प्रदेश सरकारसँग के कसरी समन्वय गर्नुभएको छ ?
विकास बजेटको मूल श्रोत नै संघ र प्रदेशबाट आउने रकम भएको हुँदा संघ र प्रदेशसँग अधिकतम समन्वय र सहकार्य गरिएको छ । गाउँपालिकाको नेतृत्वका हिसाबले विभिन्न स्वरूप र प्रकृतिमा आउने बजेट तथा कार्यक्रम माग गर्ने र कार्यान्वयन गर्ने गराउने सन्दर्भमा अधिकतम पहल गरिएको छ ।
गाउँपालिकाको विकासका लागि प्रदेश सरकार र संघीय सरकारबाट के अपेक्षा गर्नुभएको छ ?
प्रदेश र संघीय सरकारबाट कार्यान्वयन हुने योजना र हस्तांतरण हुने कार्यक्रमहरू स्थानीय सरकारको माग र आवश्यकता अनुसार हुनुपर्छ । कार्यक्रम र योजनाहरूको डुप्लिकेसन हुने, व्यक्तिगत र पहुँचका आधारमा विकास बजेटको वितरण हुने परिपाटि सच्याइनुपर्छ । गाउँपालिकाले निर्णय गरेर माग गरेका योजनाहरू बजेट तथा कार्यक्रममा समावेश नहुने तर आवश्यकता भन्दा विभिन्न स्वार्थ र व्यक्तिगत पहुँचका आधारमा योजना छनौट हुने गरेका छन् जुन एकदमै खेदजनक छ ।]
त्यस्तै सम्पुटक अनुदानको रूपमा आउने रकमबाट कार्यान्वयन हुने योजनाहरूको बजेट एक आर्थिक वर्षमा सम्पन्न हुन नसकेको अवस्थामा त्यसको बाँकी आर्थिक भार स्थानीय तहको मात्रै रहने अवस्थाको अन्त्य हुनुपर्छ ।
समृद्ध पालिका निर्माणका लागि अबको योजना के छ ?
विकास र समृद्धिको दिशामा प्रतिबद्धता गरी सुरुवात गरिएका कार्यक्रमहरूको इमान्दारपूर्वक कार्यान्वयन र तत्काल गर्न नसकिएका, ठूलो बजेट आवश्यक पर्ने योजना, ठूला भौतिक पूर्वाधार, पर्यटनको विकास लगायतका महत्वकांक्षी लाग्ने जनचासो र जन चाहनाका क्षेत्रमा काम गर्ने तीव्र इच्छा छ । कृषि र पशुपालन क्षेत्रमा लगानी वृद्धि गरी उत्पादन बढाउने र रोजगारी सृजना गर्ने कार्यमा ध्यान दिनु जरुरी देखिन्छ ।
अन्त्यमा कर्मचारी र जनप्रतिनिधिबीचको समन्वय कस्तो छ ?
कर्मचारी र जनप्रतिनिधि बीचमा अधिकतम समन्वय र सहकार्य भई काम हुने गरेको छ । कर्मचारी र जनप्रतिनिधि भनेका जनताको विकास र सेवा प्रवाहका माध्यम वा पुल भएको हुँदा स्थानीय सरकारले गर्ने गतिविधिहरू चुस्त दुरुस्त बनाउनका लागि दुबैको भूमिका अत्यन्त अन्योन्याश्रित र सहज हुनुपर्छ ।
फेरि कर्मचारी भनेका हाम्रो स्थायी सरकार हो हामी त निश्चित समयको लागि मात्रै आउने र जाने भएकोले हाम्रो भिजन मिसनका आधारमा नीति, नियम र कानूनका परिधिमा रही काम गर्नका लागि हामीले कर्मचारीलाई साथ र सहयोग गरेका छौं । कहिलेकाहीँ आइपर्ने सानातिना समस्याहरूको छलफल तथा सहकार्य मार्फत समाधान गर्ने गरिएको छ ।