काठमाडौं । नेपाल नेत्रज्योति संघले अमेरिकास्थित ह्याल्पिङ ह्यान्ड हेल्थ एजुकेसन संस्थाको आर्थिक सहयोगमा काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरीका लागि चस्मा (सन ग्लास) हस्तान्तरण गरेको छ ।
कार्यक्षेत्रमा खटिने ट्राफिक प्रहरीलाई धुवाँ, धुलो तथा घामको समस्याबाट जोगाउन संघले उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २ हजार चस्मा हस्तान्तरण गरेको हो ।
बुधबार आयोजित कार्यक्रममा संघका अध्यक्ष प्रा.डा. चेतराज पन्त र ह्याल्पिङ ह्यान्ड हेल्थ एजुकेसनका अध्यक्ष नारायण श्रेष्ठले संयुक्त रूपमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई ती चस्मा हस्तान्तरण गरे । सो अवसरमा संघका अध्यक्ष पन्तले बढी समय धुवाँ, धुलो र प्रत्यक्ष प्रकाशका किरणमा सेवा गर्नुपर्ने ट्राफिक प्रहरीका आँखामा समस्या आउन नदिन चस्माले सहयोग पुर्याउने विश्वास व्यक्त गरे । उनले सडक दुर्घटना न्यूनीकरणका लागि पनि सवारी चालकको नियमित आँखा परीक्षण गरिनुपर्ने र यसकार्यमा संघलाई ट्राफिक प्रहरीको सहयोग र सहकार्य आवश्यक रहेको औंल्याए ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोखरेलले ट्राफिक प्रहरीको समस्या बुझी उपत्यकामा कार्यरत सबै ट्राफिक प्रहरीका लागि चस्मा हस्तान्तरण गरेकोमा संघ र ह्याल्पिङ ह्यान्डलाई धन्यवाद समेत व्यक्त गरे । ह्याल्पिङ ह्यान्ड हेल्थ एजुकेसनका अध्यक्ष श्रेष्ठले दुर्घटना न्यूनीकरण, सवारी व्यवस्थापन र सुरक्षामा निरन्तर सेवा प्रवाह गर्ने ट्राफिक प्रहरीहरूको आँखाको सुरक्षाका लागि आफ्नो तर्फबाट केही सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले यसप्रकारका सहयोग भविष्यमा पनि निरन्तर रहने प्रतिबद्धता समेत व्यक्त गरे ।
संघका सचिव वरिष्ठ अधिवक्ता हरिप्रसाद शर्मा, संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्र, ह्याल्पिङ ह्यान्डका देशीय निर्देशक पशुराम दाहाल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको विभिन्न तहमा कार्यरत प्रहरी अधिकृतको समेत उपस्थिति थियो ।
संघका कार्यकारी निर्देशक डा. मिश्रले संघ अन्तर्गतका आँखा अस्पतालले देशैभर विभिन्न शिविरमार्फत वार्षिक हजारौं आँखाका बिरामीको निःशुल्क उपचार गरिरहेको जानकारी दिए । संघअन्तर्गत देशभरमा २८ आँखा अस्पताल, १५६ आँखा उपचार केन्द्र तथा ४३ जिल्ला शाखा सञ्चालनमा छन् ।
स्थापनादेखि हालसम्म संघले नेपाली नागरिक तथा अन्य देशका गरी कूल ४ करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई उपचार गरिसकेको छ । ५१ लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ ।