काठमाडौं । राष्ट्रिय योजना आयोगलाई भारतको प्रधानमन्त्री गति शक्ति राष्ट्रिय गुरु योजना (पिएम गतिशक्ति मास्टर प्लान) सम्बन्धी ‘विफ्रिङ’ गरिएको छ । बुधबार भारतबाट आएको प्रतिनिधि मण्डलले आयोगलाई व्रिफिङ गरेको हो ।
भारतीय वाणिज्य मन्त्रालयको उद्योग तथा आन्तरिक व्यापार प्रवर्दन विभागका विशेष सचिव सुमिता डाउरा नेतृत्वमा काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव करुण वन्सल साथै भारतीय विदेश मन्त्रालय र पिएम गतिशक्ति मास्टर प्लानको प्राविधिक समूह लगायतको टोलीले उक्त मास्टर प्लानबारे बुझाउएको थियो । समृद्धिको यात्रामा चाडो पुग्न आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको भिजन अनुसार पिएम गतिशक्ति मास्टर प्लान बनाएर काम गरेको बताउँदै प्रविधिको उच्चतम प्रयोग गरी छिमेकी राष्ट्रयहरूले समेत यस्तो योजना बनाएर काम गर्न सक्ने भारतीय टोलीले बताएका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भारत भौतिक पूर्वाधार विकासका लागि रुपान्तरणकारी दृष्टिकोणको रुपमा रहेको पिएम गतिशक्ति मास्टर प्लानका छलफल समेत भएको थियो । भारतमा पिएम गतिशक्ति मास्टर प्लान सन् २०२१ बाट सुरुवात गरिएको कार्यक्रम हो । यसको उद्देश्य एकिकृत तथा मल्टिमोडल पारवाहन प्रणाली मार्फत पारवाहन पूर्वाधारहरुको दक्षतामा सुधार गर्ने रहेको छ ।
समन्वयात्मक तथा एकिकृत योजना तर्जुमा, विकास र कार्यान्वयनको लागि एक संस्थागत संरचना भारतले स्थापना गरेको छ । पूर्वाधार निर्माणमा तीव्रता ल्याउनु, लागतमा कमी ल्याउनु, रोजगारी सिर्जना गर्नु, आगामी ४ वर्षमा भौतिक पूर्वाधार आयोजनाहरुको एकिकृत योजना र कार्यान्वयनको सुनिश्चितता गर्नु यसका उद्देश्य रहेका छन् ।
कार्यक्रममा आवश्यक प्रविधि तथा सफ्टवेयर सहयोग प्रदान गर्न सकिने, मल्टिमोडल कनेक्टीभिटी को लागि एकिकृत योजना तर्जुमा गर्न आवश्यक ‘जिआईएस इनेवल प्लाटफर्म’ बनाएर होस्ट गर्न सकिने र प्रशिक्षण तथा क्षमता विकासका कार्यक्रम सचालन गर्न सकिने लगायतका विषयमा समेत छलफल भएको थियो ।
भारतीय टोलीको प्रस्तुति पछि आयोगका कार्यबाहक उपाध्यक्ष डा. रामकुमार फुयाँलले प्रस्तुतिका लागि धन्यवाद दिँदै आवश्यक विषयहरूमा सहकार्य गरेर अघि बढ्ने बताए । छलफलमा आयोगका सदस्य डा. जयकान्त राउत, निमित्त सदस्य सचिव सुमन दाहाल, आयोगका सहसचिव डा. किरण रुपाखेती, परराष्ट्र मन्त्रालयको दक्षिण एशिया महाशाखाका सहसचिव रामप्रसाद सुवेदी लगायतका व्यक्तिहरू सहभागी रहेका थिए ।