काठमाडौं । विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि ८ जनाले आवेदन दिएका छन् ।
आयोगको अध्यक्षका लागि बुधबारसम्म आवेदन दिने अन्तिम दिन थियो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार अध्यक्षका लागि निवर्तमान अध्यक्ष दिल्लीबहादुर सिंह, डा. रामप्रसाद धिताल, मोतिबहादुर बँवर, डा मधुसुधन अधिकारी, कृष्णसिंह बस्नेत, चन्द्रसिंह सायद, अर्जुनजंग थापा र कुशेश्वरप्रसाद साहले आवेदन दिएका छन् ।
सदस्यका लागि जयराम भण्डारी, चूडामणि चापागाई, डा. मधुसुदन अधिकारी, सुरेशबहादुर भट्ट, भागिरथी भट्टराई ज्ञवाली, कृष्णसिंह बस्नेत, शकुन्तला ढकाल मरहट्ठा, झमकप्रसाद शर्मा, कुशेश्वरप्रसाद साह, डा. सूर्यकुमार सापकोटा र जेनी पुरीले आवेदन दिएका छन् ।
मन्त्रालयले गत वैशाख २६ गते १५ दिनभित्र आवेदन दिन सार्वजनिक सूचना आह्वान गरेको थियो ।
सूचनाअनुसार १ अध्यक्ष र ३ सदस्यका लागि आवेदन दिन भनिएको थियो । मुलुकको ऊर्जा क्षेत्रको नियमन गर्ने निकायका रूपमा आयोग क्रियाशील छ । आयोगका अध्यक्ष र सदस्यको कार्यावधि ५ वर्ष रहेको छ ।