माओवादी जनयुद्धको आधार इलाका हो- रोल्पा । जहाँ पचासको दशकका रोल्पाली तन्नेरी युद्धमा नहोमी सुखै थिएन । २०६२-६३ को जनआन्दोलन देशभरि चलिरहँदा पनि रोल्पामा माओवादीकै डर थियो । भय थियो । आन्दोलनमा लैजान कोसिस गर्थे । त्यो बेला रोल्पाली तन्नेरी तीन बाटो समाउन पर्थ्याे । पहिलो थियाे- माओवादीमा प्रवेश । दाेस्राे थियाे- खाडी देश प्रवेश । तेस्रो थियाे- भारतीय लाहुरे बन्ने ।
तर, रोल्पा रन्टाबाङका कमानसिङ थापामगर यी तिनै विकल्पको पछि लागेनन्, बरु नयाँ बाटो लागे, त्यो चौंथो बाटो थियो- निजामती सेवा । उनै थापामगर निजामती सेवाका सफल कर्मचारी हुन् । अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबारमा उपसचिवको भूमिका निर्वाह गरिरहेका थापामगरकाे संघर्ष भने निकै मर्मस्पर्शी छ ।
सशस्त्र जनयुद्धपछि नेपालमा विदेश जानेको लहरै चल्यो । अझ लामो सशस्त्र जनयुद्धको मारमा सेकिएको रोल्पा, रुकुमका तन्नेरी त विदेश जान हतारिन्थे । खाडी नै भए पनि पस्न हौसिन्थे । थापामगरलाई पनि मलेसिया जाने औधी रहर थियो । मलेसिया पुगेकाले धेरै पैसा कमाइ हुन्छ भन्ने आश्वासन दिएपछि त उनी विदेश जान तातिएका थिए । किशोर उमेरमै बुवा बितेकाले घरको जिम्मेवारी आमाको काँधमा थियो । छोरो भएपछि अलिकति आर्थिक जिम्मेवारी पनि बढ्यो । यस्तै, सोचेर थापामगर आमाको आँखा छलेर एसएलसी दिनेबित्तिकै विदेश जान हतारिए । तर, २१ वर्षको उमेर नपुगी विदेश जान नमिल्ने भएपछि खिन्न भए उनी ।
‘विदेश जाने भूत चढेको बेला म २१ वर्षको हुन्थें भने यतिखेर मलेसियाको लाहुरे हुन्थें हुँला’, थापामगरले ती दिन सम्झिए ।उनले एसएलसी पास भएको केही समयमै जिल्ला वन कार्यालयमा आवेदन दिन पाए ।
जिल्ला वन कार्यालयले नयाँ कार्यालय सहयोगी खोजिरहेको आवेदन मागेकाे बारेमा उनी भन्छन्, ‘त्यो बेला उपेन्द्र पटेल जिल्ला वन कार्यालयको अधिकृत हुनुहुन्थ्यो, उहाँले फ्रेस मान्छे भर्ना गर्छु भनेर कार्यालय सहयोगीको सूचना निकाल्नु भएको थियाे । मलाई मेरा गाउँका मान्छेले जानू भने । २१ वर्ष नपुगुन्जेल नेपालमै केही त गर्नुपर्छ भन्ने सोंचेर आवेदन दिएँ ।’
कार्यालय सहयाेगीमा थापामगर पास भए । कार्यालय सहयोगीबाट निजामती सेवामा प्रवेश गरेका थापामगरले मलेसिया बिर्सिए । त्याे साेंच नै हटाइदिए । काम गर्ने क्रममा उनले थप काम पनि सिके । आफ्नै हाकिमबाट नयाँ नयाँ प्रशासनिक ज्ञान लिन थाले ।
लोकसेवा आयोग पढी परीक्षा दिएर निजामती सेवामा काम गर्न पाइन्छ भनेर नसाेचेका उपसचिव थापामगरले आफ्ना आफन्तले नगरेकाे काम गरिदेखाइदिएका थिए । हुन पनि उनका आफन्त कोही इन्डियन आर्मी, कोही नेपाल आर्मी, नेपाल प्रहरी र कोही ब्रिटिस आर्मीमा जागिरे थिए । यति मात्र होइन, उनका कोही नातेदार त जनमुक्ति सेनामा पनि थिए ।
२०६४ सालमा थापामगर वन कार्यालयमा काम गर्थे । त्यो बेला उनी १८ वर्षका थिए । ६ महिनापछि उनको कामप्रतिको मोह देखेर वन कार्यालयका हाकिमले मुखियास्तरको फिल्ड सहायकको जागिर दिए । त्यसपछि उनलाई रोल्पाको वन सर्वेक्षणको सम्पूर्ण जिम्मेवारी आइलाग्यो । थापामगरले वन कार्यालयको जागिरमा मज्जा लिएकै थिए, तर उनको सपना अधिकृत बन्ने थियो ।
वन कार्यालयका सुब्बा तिलकराम ओलीले खरिदारको फाराम भरिदिएर परीक्षाको तयारी गर्न किताब दिएका थिए, त्यो किताब पढिसकेर थापामगरले फिर्ता गरिदिए । उनै ओलीले ती किताबबाट प्रश्न गरे । थापामगरले खुरुखुरु भने । लेखे । उनले मन जिते । उनी भन्छन्, ‘दाङको तुलसीपुर आएर खरिदारको परीक्षा दिएँ । नाम पनि पहिलो प्रयासमै निकालें । १ नम्बरमा ।'
‘लोकसेवा भन्ने कुरा थोरै मात्र मेहनत गरे फ्याट्ट पास हुन सकिने रहेछ । इच्छा शक्ति नै ठूलो कुरा रहेछ’ , थापामगरले भने । २०६६ सालमा खरिदार, २०६७ सालमा सुब्बा भएका उनलाई अफिसर हुने रहर लाग्न थाल्यो । मेहनत गरे कसो पास नभइएला भन्ने लागेर अधिकृतको तयारी गर्न थाले ।
२०६६ सालमा खरिदार हुँदा थापामगर २० वर्षका थिए । चारवटा गाविस सचिवको जिम्मेवारी सम्हाल्न उनी रोल्पा गए । सोही वर्षमा उनले प्लस टु पनि पास गरेका थिए । रोल्पाली मगर समुदायले त उनलाई आफूहरूको शिर उच्च बनाएको भनेर बडो गर्वसमेत गरे । उनको खोजी जतासुकै हुन थाल्यो । अझ मगर समुदायमा बाक्लो चर्चाको विषय बन्यो । उनी भन्छन्, ‘मैले राजनीति पनि निजामती सेवामा प्रवेश गरेपछि मात्र बुझ्न थालेको थिएँ ।’
मध्यपश्चिम विकास क्षेत्रबाट कुनै तयारीविना सुब्बाको परीक्षा दिने तयारी गरेका थापामगरले चारवटा गाविस सचिवको जिम्मेवारी सम्हाल्दा देश र परिस्थितिको बारेमा मज्जाले जानकार भइसकेका थिए । त्यसकारण उनी आफू जसरी पनि सुब्बामा नाम निकाल्छु भन्ने सोंचमा थिए ।
'लोकसेवा भन्ने कुरा थोरै मात्र मेहनत गरे फ्याट्ट पास हुन सकिने रहेछ । इच्छा शक्ति नै ठूलो कुरा रहेछ’ , थापामगरले भने । २०६६ सालमा खरिदार, २०६७ सालमा सुब्बा भएका उनलाई अफिसर हुने रहर लाग्न थाल्यो । मेहनत गरे कसो पास नभइएला भन्ने लागेर अधिकृतको तयारी गर्न थाले ।
त्यो बेला हुलाकबाट आवेदन फाराम भर्ने व्यवस्था भएकाले थापामगरले पनि त्यसैको सहयोग लिए । स्नातक पास भएकै वर्ष अधिकृतको लागि आवेदन दिए । आवश्यक कागजको अभावमा उनले २०७९ सालमा हुलाक अधिकृतसँग चिनजान भएको नाताले कबुलियत गरेर आफूले स्नातक पास गरेको कुरा बताउँदै अनलाइनबाट आएको रिजल्ट देखाएर १५ दिनभित्र सक्कली मार्कसिट बुझाउने सर्तमा अधिकृतका लागि फारम भरे । त्याे समय प्रयास गर्नका लागि भरेकाे उनी बताउँछन् ।
‘२०६९ सालको फागुन २९, ३० र ३१ गते तीन पेपरको लोकसेवा परीक्षा लेख्नुपर्ने भएपछि कोठामा बसेर खुब पढें । सुन्धाराबाट परीक्षा दिन तयार भएर निस्कँदा सरकारले खिलराज रेग्मीलाई राष्ट्राध्यक्ष बनाएको भन्दै विप्लव समूहले देश बन्द गरेको रहेछ’, थापामगर भन्छन्, ‘कालीमाटी जाने तरकारीको गाडी नभेटिएको भए सायद म धेरै सालपछि मात्र अफिसर बन्थे हुँला । तर सरस्वती माताको आशीर्वादले गर्दा मलाई २०७० सालमै अफिसर हुने अवसर प्राप्त भयो । म त्यो पटक पनि पहिलो प्रयासमै अफिसर भएँ ।’
३५ वर्षे थापामगरले जागिरे जीवनमा धेरै चुनौतीहरू पार गरे । गाविस सचिव हुँदा जटिल-जटिल कामहरूले नै अध्ययन गर्ने र अनुभव बटुल्ने मौका पाएको बताउँछन् । भन्छन्, ‘लोकसेवा पढ्ने मान्छेले हरेक क्षेत्रका मसिना कुराहरू पल्टाएर गहिरो गरी अध्ययन गरेको हुनुपर्छ ।’
त्यसैगरी, थापामगरले २०७६ सालमा उपसचिवका लागि तयारी गरे । उनले पहिलोपटकमै नाम निकाले । ४१ सिट मागेको उपसिचवमा मगरले १७ नम्बरमा नै नाम निकाल्न सफल भएका हुन् । हाल उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबारमा उपसचिव भएर काम गरिरहेका छन् । उनी भन्छन्, ‘निजामती सेवामा काम गर्दा थुप्रै जटिलता र चुनौती छन् । तर इमानदार भएर गर्न सकेमा मज्जा पनि आउँछ ।’
'कर्मचारी शासक होइन, सेवक' बन्नुपर्छ भन्ने धारणा राख्ने थापामगर आफूलाई सामान्य कर्मचारी मान्छन् । कर्मचारी भएपछि जनताप्रति जति धेरै उत्तरदायी भइन्छ, उति नै धेरै आफूलाई फाइदा हुने बताउने उनी भन्छन्, ‘लोकसेवा भनेर किताब नै मात्र पढ्ने पनि होइन, चौतर्फी ज्ञान भएको हुनुपर्छ । निरन्तर अपडेट तथा अनुभव र अध्ययनले पनि सहज बनाउने रहेछ । किताबमा मात्र घोटिरहने बानी त्यति राम्रो पनि होइन ।
३५ वर्षे थापामगरले जागिरे जीवनमा धेरै चुनौतीहरू पार गरे । गाविस सचिव हुँदा जटिल-जटिल कामहरूले नै अध्ययन गर्ने र अनुभव बटुल्ने मौका पाएको बताउँछन् । भन्छन्, ‘लोकसेवा पढ्ने मान्छेले हरेक क्षेत्रका मसिना कुराहरू पल्टाएर गहिरो गरी अध्ययन गरेको हुनुपर्छ ।’
उनका अनुसार सरकारी सेवामा कार्यरत कुनै कर्मचारी सन्तुष्ट छैन भन्छ भने त्यो सरासर गलत हो । निजामती सेवा स्थायी र शक्तिशाली सरकार हो ।
विद्यार्थी जीवन जति सजिलो गरी बित्यो, पारिवारिक जीवन त्यस्तो भएन थापामगरकाे । १७ वर्षको उमेरमा विवाह गरेका थापामगर विगत सम्झिएर 'बालविवाह भएको हाे मेराे' भन्न अप्ठ्याराे मान्दैनन् । बुवाको निधनपछि ठूलो जिम्मेवारी आइलागेको थियो उनलाई । तर आमाले कत्ति पनि विचलित हुन दिइनन् । आमाको साथ उनलाई सधैं थियो । अन्तरजातीय विवाह गरेका थापामगर सुझाव दिन्छन्, ‘छिट्टै कमाउँछु र रमाउँछु भन्नेहरू निजामती सेवामा नआए हुन्छ ।'