काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको छ । राजस्व अनुसन्धान विभागले विमानस्थलबाट एक क्विन्टल सुन बरामद गरेको हो ।
विभागले हङकङबाट आएको सुनसहित एजेन्ट र भरियालाई पक्राउ गरेको छ । ट्याक्सीमा राखेर सुन एयरपोर्टबाट बाहिरिने क्रममा विशेष सूत्रको सूचनाका आधारमा विभागले सुनसहित दुई जनालाई पक्राउ गरेको हो ।
यो अपरेसन बुधबार बिहान ११ बजे गरिएको हो । अध्यागमन र प्रहरीबाट समेत सुन पास गरेर अघि बढिसकेको अवस्थामा विभागले नियन्त्रणमा लिएको हो ।
विभिन्न उपकरणहरूभित्र राखेर सुन ल्याएको अवस्थामा छापा टोलीले उक्त सुन पक्राउ गरेको हो । भन्सार विमानस्थलको स्क्यानरले समेत पत्ता लाउन नसक्ने गरी भित्र्याइएको बताइएको छ ।
सुराकीको आधारमा अनुसन्धान विभागले सामान जाँचपास गरेर भन्सार हाताबाट बाहिर ल्याउँदै गरेको अवस्थामा एक भन्सार एजेन्ट र ट्याक्सी चालकसहित सुन बरामद गरेको हो । भन्सार एजेन्ट राजेन्द्रकुमार राई र ट्याक्सी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
स्कुटरको पार्ट घोषणा गरेर सुनका ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धान विभागका एक अधिकारीले बताए । स्कुटर पार्टमा सुन पनि जोडेर ल्याएको र त्यसको तौल यकिन हुन सकेको छैन ।
प्रहरीले सुन तस्करीको वास्तविक मालिकको खोजी गरिरहेको बताएको छ । यो विभागको इतिहासकै ठूलो अपरेसन हो ।
पक्राउ परेको सुन थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागलाई बुझाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालले जानकारी दिए । प्रवक्ता खनालले १६० सेट प्याक भेटिएको बताए ।
उक्त सामान रेडी प्रालि काठमाडौंले ल्याएको उल्लेख छ । चार दिन अगाडि प्यासिफिक एयरबाट यो सबै सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको थियो ।
विभागले बरामद गरेको सुन ८० केजी भन्दा बढी भएको अनुमान गरेको छ ।