काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन बसेको कार्यदलको बैठक निष्कर्षविहीन भएको छ ।
सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आज बसेको बैठकमा संसदीय छानबिन समितिको कार्यदेशका बारेमा छलफल भएको नेकपा (एमाले) को संसदी दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडानका कारण बैठक निष्कर्षविहीन भएको उनको भनाइ छ । उनका अनुसार कार्यदलको बैठक शुक्रबार बिहान फेरि बस्ने तय भएको हो । “बैठक निष्कर्षविहीन भयो”, उनले भने, “सहमति जुटन नसकेपछि निष्कर्षविहीन भएको हो । आजको बैठकबाट करिब करिब ठ्याकै टुङ्गो चाही भोलि बिहान ८ः३० बजे लगाउने गरी समितिको केही कार्यदेश विषयमा नजिक पुग्यौँ । ”
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले बैठकमा सरकारपक्षबाट राखिएको मौखिक प्रस्तावमा नाम नराखी छानबिनको दायरा अघि बढाउनसक्ने आशय आफूहरुलाई स्वीकार्य नभएको बताए ।
छानबिन सम्बन्धित व्यक्तिकै बारेमा छानबिन नगरिकन कांग्रेसले कार्यादलमा सहमति गर्ने अवस्था छैन”, उनले भने, “हामीले स्पष्ट रुपमा भनेका छौँ यसकाबारे छानबिन समिति बनाउनुपर्छ भनेर उठाएका हौँ, जबसम्म त्यहाँ पुग्दैन हामी मान्दैनौँ भनेर भनेका छौँ । स्पष्ट रुपमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने स्वतः अपचलनमा सहभागी हुनुहुन्छ । आजको बैठकमा सरकारपक्षलाई यही कुरा राखेको छु ।”
प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने तय भएको छ । सभाको बैठक अघि कार्यादलले सहमति जुटाउन बैठक बस्ने जनाएको छ । कार्यादलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, प्रमुख सचेतक बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनाल, कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की र नेता परियार छन् ।