काठमाडौं । गत असार २८ गते प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले यस वर्षको डिप्लोमा तथा प्रमाणपत्र तहका सबै कार्यक्रमको भर्ना प्रक्रिया अघि बढाउन सूचना प्रकाशित गरेको छ । तर, चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने संस्थाको नवीकरण र सिट निर्धारण नै बाँकी रहेको भन्दै भर्ना रोक्न परिपत्र गरेपछि अन्यौल भएको छ ।
सीटीईभीटी अन्तर्गत प्रमाणपत्र तहको चिकित्सा शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन हुने २ सय वटा शिक्षण संस्था छन् । असार २८ गते नर्सिङ, सामान्य चिकित्सा, फार्मेसी, ल्याब, रेडियोग्राफी, डेन्टल, आयुर्वेदसहित ११ वटा विषयमा सीटीईभीटीले नयाँ भर्नाका लागि आवेदन फारम भर्न सूचना जारी गरेको थियो । तर, अहिलेसम्म ९० प्रतिशत संस्थाको सिट निर्धारणका लागि विवरण नै पेस नभएको र परीक्षा सञ्चालनका लागि कुनै किसिमको समन्वय नभएको भन्दै चिकित्सा शिक्षा आयोगले भर्ना प्रक्रिया बदर गर्न मंगलबार सीटीईभीटीलाई परिपत्र गरेको छ ।
नियमअनुसार गरिएकाले भर्ना प्रक्रिया नरोक्ने सीटीईभीटीले प्रतिक्रिया दिएको छ । विज्ञद्वारा हरेक शिक्षण संस्थाको अनुगमन गरि सोको प्रतिवेदनका आधारमा शिक्षण संस्थाको नवीकरण, सिट निर्धारण र भर्ना प्रकियामा जाने व्यवस्थाअनुसार नै भर्ना प्रक्रिया अघि बढाइएको सीटीईभीटीले जनाएको छ ।
सीटीईभीटी अन्तर्गतका आंगिक, साझेदारी र निजी गरि २ सय वटा शिक्षण संस्थामा स्वास्थ्य शिक्षाका १३ हजार ९ सय सिट छन् । दुई नियमनकारी निकायको विवादले स्वास्थ्य शिक्षाको भर्ना प्रक्रिया अन्यौलमा पर्ने हो कि भन्ने चिन्ता शिक्षक र विद्यार्थीमा रहेको छ ।
यस विवादका कारण विद्यार्थीहरु अन्य विषयतर्फ जानसक्ने हुनाले दुवै सरकारी निकायले छलफलका माध्यमबाट समस्या समाधान गरि भर्ना प्रक्रिया सहज बनाउन ढिला गर्न हुँदैन ।