दाङ । घोराही उपमहानगरपालिका–१५ भरतपुरस्थित पद्मोदय पब्लिक नमूना माविका लागि भारतीय राजदूतावासको सहयोगमा निर्मित ३६ कोठे भवनको शुक्रबार उद्घाटन गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास चौधरीको अध्यक्षता तथा नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहको प्रमुख आतिथ्यमा भवन उद्घाटन गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि सिंहले युवाको शिक्षाप्रतिको आकांक्षा पूरा गर्न र दूरदराजका नागरिकको जीवन बलियो बनाउन सहयोग पुर्याउने उद्देश्यले भारत सरकारले यस प्रकारको सहयोग प्रदान गर्दै आएको बताए । विकास साझेदार कार्यक्रमअन्तर्गत राजदूतावासले सहयोग गरेको उनको भनाइ थियो ।
भारतले नेपालको विकास साझेदारीमा सन् २००३ देखि काम गर्दै आएको छ । उनले विकास साझेदारीका माध्यमबाट अझ परियोजनामा सहकार्य हुने विश्वास दिलाए ।
उनका अनुसार लुम्बिनीमा ६१ वटा विद्यालयमा यस प्रकारको सहयोग भइसकेको छ भने दाङमा ६ विद्यालयको पूर्वाधारमा लगानी, ५ वटा स्कूल बस सहयोग गरेको जानकारी गराउँदै उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको बताए । प्रदेशभर १ हजार ९ वटा एम्बुलेन्स, ३०० वटा स्कूल बस सहयोग भएको पनि उनले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायत विविध क्षेत्रमा भारत सरकारले प्रदान गर्दै आएको सहयोगबाट नेपाल र नेपालीको जीवन बदल्न सहयोग मिलेको बताए ।
घोराही उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) नरुलाल चौधरीले दक्ष जनशक्ति उत्पादनमा लागेको विद्यालयको भौतिक पूर्वाधार विकासमा भारत सरकारले गरेको सहयोग प्रशंसनीय रहेको बताए । उनले भारतीय शिक्षकले दाङमा आएर अध्यापन गरेको स्मरण गरे ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामबन्धु सुवेदीले शैक्षिक उन्नयनका लागि प्राप्त भएको विद्यालय भवनको सही सदुपयोग हुनु प्रभावकारी देखिएको बताए । विद्यालयलाई यसबाट थप शैक्षिक गुणस्तर कायम गर्दै अघि बढ्न सुझाव दिए ।
भारत सरकारको २ करोड ६८ लाख लागतमा २०६४ मा शिलान्यास भई २०६६ मा सम्पन्न भएको विद्यालयको करीब १७ वर्षपछि उद्घाटन गरिएको छ । हाल भवनमा ११ र १२ कक्षाका विज्ञान, व्यवस्थापन र शिक्षा संकायका २ हजार ५०० भन्दा बढी विद्यार्थीले पठनपाठन गर्दै आएका छन् ।