म्याग्दी । जिल्लाको बेनी नगरपालिकाले क्यूआर कोड सहितको डिजिटल (विद्युतीय) घर नम्बर प्रणाली सुरु गरेको छ ।
सबै नगरवासीको सूचना, विवरण संकलन र विद्युतीय प्रणालीमा अद्यावधिक गरी डिजिटल घर नम्बर प्रणाली लागू गरेको हो । नगर प्रमुख (मेयर) सुरत केसीले सेवा प्रवाहलाई सहज, सुशासन र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन डिजिटल घर नम्बर प्रणाली लागू गरिएको जानकारी दिए ।
‘डिजिटल घर नम्बर प्रणालीमा रहने क्यूआर कोडमा सम्बन्धित घर कहाँ छ, उक्त घर कति तलाको छ, कुन रङको घर, घरमा कति कोठा छ, उक्त घर केबाट बनेको लगायतका ९० किसिमका जानकारी राखिएको छ,’ उनले भने, ‘सुरक्षाका हिसाबले गोप्य सूचनामा सम्बन्धित घरधनीबाहेक अरुको पहुँच नहुने व्यवस्था मिलाएका छौं ।’
मेयर केसीले शुक्रबार साँझ बेनी नगरपालिका–८ न्यूरोडका लिलाराम गौतम र देवी केसीलाई डिजिटल घर नम्बर हस्तान्तरण गरेर अभियान सुरुआत गरे । पहिलो चरणमा बेनी नगरपालिकाको ७ र ८ नम्बर वडाका १ हजार ९०० घरमा डिजिटल घर नम्बर प्लेट राखिने मेयर केसीले बताए ।
उनका अनुसार बेनी नगरपालिकाको १० वटै वडाका ७ हजार २०० घरमा पुगेर सूचना र विवरणलाई विद्युतीय प्रणालीमा अभिलेखीकरण गरिएको छ । ७ र ८ नम्बर बाहेकका वडाका घरमा राखिने डिजिटल नम्बर प्लेट छपाउने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।
बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तम कर्माचार्यले सेवा सुविधाको दुरुपयोग र दोहोरो सुविधा रोकिने, घरधनीले आफ्नो विवरण आफैं अद्यावधिक गर्न सक्ने, सुत्केरी, गर्भवती तथा जटिल रोग, बिरामी, विपद्को अवस्थामा तत्काल सहयोग गर्न सकिने गरेर डिजिटल घर नम्बर प्रणालीको विकास गरिएको बताए ।