कास्की । गण्डकी प्रदेशका ११ जिल्लाका १ लाख १० हजार ३२७ बालबालिकालाई पोलियोे विरुद्धको इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आईपीभी) खोप दिइने भएको छ ।
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत अभियानका रूपमा जेठ १३ गतेदेखि २६ गतेसम्म गण्डकीमा खोप अभियान सञ्चालन गर्न लागिएको प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खोप कार्यक्रमका लागि ३ हजार ४५३ खोप केन्द्र तथा स्वास्थ्यकर्मी र ६ हजार ९०६ स्वास्थ्य स्वयंसेवक परिचालित हुने सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव विनोदविन्दु शर्माले जानकारी दिए ।
विक्रम संवत् २०७१ सालबाट सुरु भएको आईपीभी खोप विक्रम संवत् २०७३ सालको प्रारम्भदेखि विश्व बजारमा अभाव हुँदा २ वर्षभन्दा बढी अवधिसम्म यो खोप लगाउनबाट छुटेका थिए । छुटेका बालबालिकालाई पोलियो रोग लाग्ने जोखिम रहेकाले छुटेकालाई खोप दिने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको सचिव शर्माको भनाइ छ ।
सचिव शर्माका अनुसार नियमित खोप तालिकाअनुसार आईपीभी खोप दिनुपर्ने उमेर र उक्त समयमा यो खोप लगाउन छुट भएका हालको उमेरलाई विश्लेषण गरी बालबालिकाको उमेर समूह निर्धारण गरिएको छ ।
विक्रम संवत् २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई मात्र यो खोप दिने गरी लक्ष्य निर्धारण गरिएको र सोही आधारमा खोप तथा खोप जन्य सामग्रीको आपूर्ति तथा व्यवस्थापन गरिएको बताइन्छ ।
अभियानका लागि निर्धारण गरिएको उमेर समूहका अधिकांश बालबालिका विद्यालयमा अध्ययन गर्ने भएकाले खोप केन्द्र समेत विद्यालयलाई बनाइएको छ ।
विद्यालय नजाने बालबालिका र विद्यालयमा खोप लगाउन छुट भएका बालबालिकाका लागि पायक पर्ने स्थानमा सञ्चालन हुने बाह्य खोप केन्द्र तथा अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा सञ्चालन हुने खोप केन्द्रमार्फत खोप लगाइने भएको छ ।
खोप अभियानमा मुस्ताङमा ४५०, म्याग्दीमा ४ हजार ३५६, बागलुङमा ११ हजार ७७१, पर्वतमा ५ हजार ७०० र स्याङ्जामा १० हजार १५४ बालबालिकालाई आईपीभी खोप दिइने छ ।
कास्कीमा २८ हजार ३०७, मनाङमा १५३, लमजुङमा ६ हजार ६६५, गोरखामा ८ हजार ५३९, तनहुँमा १४ हजार ५१२ र नवलपरासीमा १९ हजार ७२९ जना बालबालिकालाई खोप दिने लक्ष्य राखिएको छ ।
पोलियो भाइरसद्वारा लाग्ने रोग हो । यो मुख्य रूपमा व्यक्ति–व्यक्तिबीचको सम्पर्कद्वारा फैलिन्छ । संक्रमित व्यक्तिको दिसा–पिसाब समावेश खाना वा पेय पदार्थको सेवनबाट फैलिने यो रोगले मुख्य गरी ५ वर्षमुनिका बालबालिकालाई असर गर्ने चिकित्सकको भनाइ छ ।