काठमाडौं ।गणतन्त्र दिवसको सम्मान एवं स्मरणमा मङ्गलबारदेखि राष्ट्रिय ललितकला प्रदर्शनी आयोजना गर्न लागिएको छ । नेपाली ललितकला क्षेत्रको महोत्सव एवं सबैभन्दा ठूलो कार्यक्रम मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी’को तयारी अन्तिम चरणमा पुगेको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति एवं प्रदर्शनी संयोजक लालकाजी लामाले जानकारी दिए ।
उनका अनुसार यसवर्ष पहिलोपटक सङ्घीयतालाई कार्यान्वयनस्वरुप प्रादेशिक ललितकला प्रदर्शनी सम्पन्न गरी त्यहाँबाट छनोट भएका कलाकृतिलाई ल्याएर काठमाडौँमा प्रदर्शन गर्ने अभ्यास हुँदैछ ।
पहिलेपहिले प्रादेशिक रुपमा यसरी कार्यक्रम हुने थिएनन् । केन्द्रमा मात्रै कार्यक्रम हुने गरिएकामा यसवर्ष प्रदेशमा समेत प्रदर्शनी गरी त्यहाँ समावेश भएका कलाकृतिलाई छनोट गरेर केन्द्रमा प्रदर्शन गर्न लागिएको हो । सहिदका साथै विद्यार्थीको विधासमेत समेटेर पुरस्कार तथा सम्मान थप गरिएको पनि लामाले जानकारी दिए ।
संयोजक लामाका अनुसार सात प्रदेशबाट छनोट भएर आएका कलाकृतिलाई निर्णायकबाट छनोट गरी प्रदर्शनमा राखिने छन् । यसवर्ष गणतन्त्र दिवसका दिनदेखि सुरु हुने प्रदर्शनी यही जेठ ३० गतेसम्म सञ्चालन हुनेछ ।प्रदर्शनीमा चित्रकला, मूर्तिकला, हस्तकला, लोककला, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विधामा पुरस्कार प्रदान गरिने छ । । लामाका अनुसार सिर्जनात्मक कलामा फोटोग्राफी, कार्टुन, क्यारिकेचर, इन्स्टलेसन, परफर्मेन्सलगायत विधाहरु रहेका छन् ।
यसभित्र रहेर हरेक प्रदेशमा दुईवटा पुरस्कार राखिएको छ । सबै विधालाई समेटेर हरेक प्रदेशमा दुईवटा पुरस्कार दिइनेछ ।