सिरहा । जिल्लाको कर्जन्हा नगरपालिका–९ मा रहेको करीब ३ दशक पुरानो पासमान सामुदायिक भवनको जग्गा बिक्री गरिएपछि स्थानीय आक्रोशित भएका छन् ।
विक्रम संवत् २०३७ सालमा पासमान सामुदायिक भवन निर्माणका लागि स्थानीय कासिन्द्र मोरवैताले प्रदान गरेको साढे ८ धुर जग्गामा विक्रम संवत् २०५४ सालदेखि सामुदायिक भवन निर्माण गरी प्रयोग हुँदै आएकोमा मिलेमतोमा बिक्री गरिएको स्थानीयको आरोप छ ।
स्थानीय विनोद पासमानले पासमान सामुदायको भावनासँग जोडिएको सामुदायिक भवनको जग्गा व्यक्तिको नाउँमा पास भएपछि आफूहरू अन्यायमा परेको बताए । ‘यो सामुदायिक भवनसँग हाम्रो ३ दशकको सम्बन्ध छ । यसमा समुदायको सामाजिक, सांस्कृतिक एवं भावनात्मक सम्बन्ध गाँसिएको छ । तत्कालीन कर्जना गाविसले दिएको रकम र यहाँका समुदायले दुःख गरी कमाएको पैसाबाट जनश्रमदान गरी एकतले भवन बनाएका थियौं,’ पासमानले भने, ‘यसै भवनबाट हामी सार्वजनिक भेला, छलफल, भोजभतेरलगायत सामाजिक कार्य गर्दै आएका छौं । अब यो खरिद बिक्री गरिएपछि कहाँ जाने ?’
स्थानीयले वडाध्यक्षको संलग्नतामा गत माघ १६ गते स्थानीय एक व्यक्तिको नाममा दर्ता कायम गरिएको भन्दै शुक्रबारदेखि वडा कार्यालयमा तालाबन्दीसहित आन्दोलन सुरू गरेका छन् ।
अर्का स्थानीय रामलखन पासमानले स्थानीयको पहलमा भवन जीर्ण भएपछि दुईतले नयाँ भवन निर्माणका लागि मधेश प्रदेश सरकारबाट चालू आर्थिक वर्षका लागि ५० लाख विनियोजन गरिएकामा सो रकम कार्यान्वन गर्ने क्रममा जग्गा व्यक्तिको नाममा दर्ता गरिएको थाहा भएको बताए । ‘योजना कार्यान्वयनका लािग उपभोक्ता समिति गठन भइसकेको थियो । पुरानो भवनसहितको जग्गा अरुकै नाममा दर्ता गरिएपछि बजेट नै फ्रिज हुने सम्भावना बढेर गएको छ । त्यसविरुद्ध आन्दोलनमा गरिरहेका छौं,’ उनले भने ।
सामुदायिक भवनको नाममा जग्गा फिर्ता गर्न स्थानीयले पटकपटक विरोध प्रदर्शन गर्दै आएका छन् तर त्यसको सुनुवाइ हुन सकेको छैन । वडा कार्यालय र नगरपालिकाको न्यायिक समितिमा निवेदन दिए पनि मागलाई बेवास्ता गरेकाले बाध्य भएर वडा कार्यालयमा तालाबन्दीसहित आन्दोलन गर्नुपरेको स्थानीय गुब्दी देवी पासमानले बताए ।
सामुदायिक जग्गा कसले र कसरी व्यक्तिलाई बिक्री गरे भन्ने विषयमा अहिले स्थानीयस्तरमा निकै चासो छ । स्थानीयले वडाध्यक्ष मो. मस्तकिमकै मिलेमतोमा काम भएको बताइरहेका छन् भने वडाध्यक्षले भने आफूले जग्गा बिक्री गर्न सिफारिस नदिएको तर तत्कालिन कार्यवाहक वडाध्यक्षले सिफारिस दिएको बताइरहेका छन् ।
उनको भनाइ छ, ‘हामीले अर्कै जग्गा बिक्री गर्न सिफारिस दिएका थियौं । मालपोतका हाकिमले पुरानै सिफारिसलाई आधार मानेर जग्गा पास गरिदिए छन् । यसलाई सच्चाउन पहल गर्नेछु ।’